
नकुल काजी
प्रजातन्त्रोत्तरका दुई अत्यन्त छोटा कालखण्ड बाहेक औसत कालखण्डहरूमा जनधरातलदेखि राज्यको नीति–निर्माता र प्रयोक्ताका अख्तियारशालीसम्मका छोटे–बडे शासक र तिनका अधिनस्त शासकीय संरचनामा सम्पृक्त ‘क’–देखि ‘ज्ञ’–सम्मकाले संविधान–निर्दिष्ट ‘विधिको शासन’–को धज्जी नै उडाउँदै आएका थिए । उनीहरूका यस्ता दुष्कर्म आम जनताका आँखामा छर्लङ्ग छन् । यो ‘सत्य’–लाई शासक–मण्डलीमा गानिने ‘स्वार्थी झोले’ भनिन थालिइएकाहरूका ‘बाहुबली हाँकमण्डली’–ले दलनमा पार्दै आएका छन्, जो अहिले पनि बरकर्रार छँदैछ । ज्वलन्त प्रमाण त, ताजा विगतको चरम ‘दलीय पक्षपाती’ पार्टी, एमालेको एघारौं महाधिवेशनका उफ्रीपाफ्रीहरूमै विम्बित भयो – जसले नेपाली जनगण आङ जुर्किने अदूर विगतका दुर्भाग्यपूर्ण दिनहरूको स्मरण गराउन थालेको छ ! कुशासन हाँकिरहेको एमाले हाइकमाण्डले जेन–जेड विद्रोहद्वारा बेइज्जतीपूर्वक अपदस्थ भएको शर्मनाक घटनालाई मासु–भाते भीडको छायाँले छेल्न निकै ठूलो तडक–भडक गरेको दृश्यावली छलिएको कहाँ छ र !
राजनीतिलाई पनि, प्रकारान्तरले, चिन्तनको धरातलमा युद्ध वा संग्राम जस्तै नै मानिन्छ । अझ हाम्रो देशको राजनीतिक खिचातानी, पद प्राप्तिको दौडधुप र पारस्परिक षडयन्त्रादि जसरी चल्दै आयो, चल्दैछ र यो बेरोक चल्दै जाने अनपेक्षित सम्भावना समेत लहलहाइरहेको छ – यो वर्तमान र अझ भविष्यका लागि युद्धभन्दा कम दग्धिदायी र खतरनाक होला भन्ठान्न दैनन्दिन झन–झन मुश्किल हुने देखिंदो छ !
प्रजातन्त्रोत्तर नेपालमा राजनीतिलाई फाइदाको व्यवसाय–व्यापार बनाइएका घटनाहरू पहुल छन् । जस्तो कि – देशमा कहालीलाग्दो भ्रष्टाचार, निस्सासिने कुशासन, ऐंठनरूपी शासकदलीय पक्षपाती लूटलक्षित धाँधली आदिले बिरक्तिएका नागरिक समाजको गाँठी समस्या निवारण खातिर नै जेन–जेड पुस्ताले परिणामदायी विद्रोह गरेको थियो । त्यो विद्रोह परिवर्तनकारी किशोर–युवाहरूका साहसको पुनरावर्तन मात्र थिएन, नेपाली समयको सर्वाेपरि र सशक्त माग पनि थियो र हो । तर, त्यो विद्रोहको संयोजक (जेन–जेड)–को दमनासाध्य पुस्तालाई अहिले, केपी ओली अधिनस्त एमाले पार्टीको एकलौटो, स्वेच्छाचारी, मिचाहा, हेपाहा वा जम्मैमा मैमत्त मूल दलाधीशको रजगजमा सकल दर्जाधारीहरू अवमूल्यनको निर्लज्ज भ्रम छर्न उद्यत देखिँदैछन् ।
अतः कसका वा कस–कसका के–के दुर्गुणका कारण आजको नेपाल इतिहासकै सबभन्दा भयंकर संकटको स्थितिबाट गुज्रिरहेको छ, सबै सालाखाला ‘राजनीति गर्दाको रगडघसले अल्मल्याएको समय’–ले थाप्लोमा बोकेको छ । संवैधानिक गणतन्त्रलाई आफ्ना स्वार्थ परिपूरक ‘चलखेलतन्त्र’ मान्ने र सोही अर्थ आफ्ना अनुयायीहरूका मानसपटमा रसाउने– भिजाउने ‘नेता’ खुलेआम बाँकट्टेमा ‘आफ्नो हुँदो’ फलाकिरहेका मात्र छैनन्; गुण्डे दुर्गन्ध फैलिने धम्कीको खाडल खनिरहेका छन् । र, त्यस्ता नेताका हुद्दामा उभिएर ‘एक्काइसौं शताब्दीका गुलाम पात्रहरू’ तिनै दुर्गन्धेको सुयश र सुुकीर्ति फर्माउँदै र जयजयकार्दै बेपत्तासँग ताली ठोकिरहेका छन् !…जात्राको अन्त्य हुने त लक्षण नै छैन, अझै उल्कापातको पो शुरुवात हुने हो कि ? आगत अनकण्टार छ !!…
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

