
झापा, २२ पुस । झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित डाँडागाउँमा एउटा जंगली हात्ती मृत फेला परेको छ ।
बुद्धशान्ति–३ डाँडागाँउका लालबहादुर रसाइलीको खेतमा आज बिहान एक वटा जंगली भाले हात्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले घट्नास्थल सुरक्षित राखेको छ भने डिभिजन वन कार्यालय झापाबाट कार्यालयको टोली घटनास्थलमा पुगेर मुचुल्का तयारी पारिरहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
योसँगै झापामा चालू आर्थिक वर्षमा २०८२÷०८३ मा हात्तीको मृत्यु संख्या दुई पुगेको डिभिजन वन कार्यालय झापा वन अधिकृत हिमाल पाठकले बताउनुभयो । हात्तीको आक्रमणबाट चालू आवमा हालसम्म चार जनाको मृत्यु भइसकेको छ ।


