
झापा, १४ माघ । देशभर माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म २० वटा घटना भएका छन् । विपद्मा परेर दुई जनाको ज्यान गयो भने पाँच जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
ती घटनामध्ये सबैभन्दा धेरै १६ वटा आगलागीका घटना भएका छन् भने चार वटा जनावर आक्रमणका घटना भए । विपदका कारण २५ लाख ६४ हजार बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।
सिरहामा तीन, मोरङ, बारा र रौतहटमा दुई, सुनसरी, भोजपुर, सर्लाही, मकवानपुर, लमजुङ, प्यूठान, बझाङमा आगलागीका घटना घटे । अधिकांश आगलागीका घटना असावधानीका कारण भएको पाइएको छ ।
प्राधिकरणका अनुसार, सुनसरी, सप्तरी, चितवन र दैलेखमा भने जनावरका घटना घटे । प्राधिकरणले सुक्खा मौसममा आगलागीका घटनामा वृद्धि हुने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।


