
झापा, १७ माघ । झापाको दमक नगरपालिका–१ सूर्यदय टोलमा शुक्रबार दिउँसो आगलागी हुँदा दुई घर पूर्णरूपमा जलेर नष्ट भएका छन् ।
विद्युत् सर्टका कारण ५७ वर्षीय हर्कबहादुर कुमालको काठ र टिनले बनेको एकतले घरमा आगो लाग्दा नजिकै रहेको उनका भाई ५० वर्षीय हरिबहादुर कुमालको घरमा समेत आगो सल्किएको थियो ।
आगलागीबाट हर्कबहादुरको घरभित्र रहेको आधा तोला सुन, खाद्यान्न, लत्ताकपडा तथा फर्निचर जलेर करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ भने उनका भाई हरिबहादुरको घरमा रहेको खाद्यान्न, लत्ताकपडा तथा फर्निचर जलेर करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दमक नगरपालिका, कमल गाउँपालिका र मोरङको उर्लाबारी नगरपालिकाबाट आएको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


