
झापा, १९ माघ । झापाको गौरादह नगरपालिका–४ रामचन्द्रे खोलाको पुलस्थित भित्री सडक खण्डमा आज साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जनाभन्दा बढी घाइते भएका छन् ।
आज करिब ७ः२० बजे गौरादहबाट स्कुलचनतर्फ जाँदै गरेको प्रदेश नं. १–०१–००१ त. ९७२० नम्बरको ट्याक्टर अनियन्त्रित भई पुलबाट खोलामा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोरङ रतुवामाई–८ बस्ने ३८ वर्षीया स्वस्तिका मर्डी गम्भीर घाइते भई उपचारको क्रममा दमकस्थित निम्स अस्पतालमा ७ः५५ बजे चिकित्सकले मृत घोषणा गरेको छ ।
अन्य घाइतेहरुमा ५० वर्षीया मुनीमती सतार, १५ वर्षीया सन्तोषी किस्कु, ६० वर्षीय एतोबार मुर्मु, २३ वर्षीया बिनिता मर्डी, २० वर्षीया सरिता मर्डी, ३ वर्षीय गंगाराम मर्डी, ८ वर्षीया मेलिना मर्डी तथा ३० वर्षीया शिला मर्डी रहेका छन्। उनीहरुको अवस्था सामान्य रहेको र उपचार भइरहेको जनाइएको छ ।
दुर्घटनापछि ट्याक्टर चालक मोरङ रतुवामाई–५ बस्ने २५ वर्षीय चमलाल मुर्मुलाई प्रहरीले नियन्त्रणमा लिई महारानीझोडा प्रहरी चौकीमा राखेको छ। ट्याक्टर भने घटनास्थलमै रहेको छ।
प्रहरीका अनुसार अन्य घाइतेहरुलाई उद्धार गरी अस्पताल पुर्याउने कार्य जारी छ। थप विवरण पछि सार्वजनिक गरिने बताइएको छ।

