
झापा, २० माघ । विभिन्न कारण देखाएर निर्वाचन आयोगले ७६ जना उम्मेदवारको नाम समानुपातिक प्रणाली तर्फको बन्दसूचीबाट हटाएको छ ।
आयोगले कांग्रेस, एमाले, रास्वपा, श्रम संस्कृति, नेकपा माओवादीसहितका पार्टीका ७६ जनालाई बन्दसूचीबाट हटाएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ती उम्मेवारविरुद्ध परेका उजुरी, उनीहरूको योग्यता र विभिन्न दलबाट आएका जानकारीसमेतलाई आधार बनाएर बन्द सूचीबाट हटाइएको हो ।

आयोगले कर्जा सूचना केन्द्रको सूचनाका आधारमा २१ जना, निर्वाचन आयोगको जरिवाना नबुझाउने १० जना गरी ३१ जनाको नाम हटाएको छ । त्यस्तै, प्रदेश सभाको बन्दसूचीतर्फ नाम कायम भएका २५ जना, २५ वर्ष उमेर नपुगेका चारजना, मतदाता नामावलीमा समावेश नभएका एक, मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेका दुई, महिलाको ठाउँमा पुरुष उम्मेदवारको रुपमा पेश भएका १, राजनीतिक दलबाट नाम हटाउन अनुरोध भएका १० र अन्य कारणबाट दुईजनाको नाम हटाएको आयोगले जनाएको छ।

