
प्रकाश पाठक
नेपाल बहुभाषिक, बहुसांस्कृतिक देश रहेको कुरामा कुनै दुविधा रहेन । नेपालको संविधान २०७२ को धारा ६ र ७ मा प्रचलित सबै मातृभाषा, राष्ट्रभाषा तथा कामकाजको भाषाको बारेमा उल्लेख गरेको पाइन्छ । तर यो कुरा गर्वका साथ लेखिरहँदा आजकाल अधिकांश नेवार्नी भाउजूलाई नेवारी आउँदैन, राई दाईलाई साकेला आउँदैन, अब झन् नेपाली भाषाको त के कुरा गर्नु ! दुःखका साथ भन्नु पर्छ वर्तमान र भविष्यका परिवर्तनका सम्वाहकहरुलाई नेपाली भाषामा एकदेखि सयसम्म उच्चारण गर्दा निकै कमले मात्र पचाससम्म पु¥याउँछन् ।
भाषाको ईतिहास पल्टाएर हेर्दा ठ्याक्कै यही मितिबाट सुरु भयो भन्ने यकिन वैज्ञानिक आधार नदेखिए पनि मानव विकासको क्रमसँगै भाषाको विकास तथा उत्थान भएको विभिन्न अध्ययनले देखाएका छन् । भाषाको ईतिहाससँग सम्बन्धित विभिन्न सिद्धान्त प्रचलित भए पनि केही चराचुरुङ्गीको आवाजको नक्कल गर्ने क्रमबाट सुरु भई हालको अवस्थामा भाषा आएको भन्ने केही अनुसन्धानकर्ताको विचार रहेको पाइन्छ ।

सम्पूर्ण विश्व भाषाको जननीको रुपमा रहेको संस्कृत भाषाको उद्गम हेर्ने हो भने पनि यसको ईतिहास हजारौं वर्ष अगाडि देख्न सकिन्छ । तर, बिडम्बना यति पुरानो भाषासँगको समीपमा रहेका हाम्रा भाषा तथा लिपिहरु भने दिन प्रतिदिन आयातित भाषाहरुका अगाडि निरीह र लाचार भइरहेका छन् ।
भाषा कुनै व्यक्ति, समुदाय, संस्कृतिको पहिचान र माध्यम पनि हो । यस लेखमा भाषालाई बिरुवाको जराको रुपमा बिम्बित गर्न खोजिएको छ । जसरी जराले बिरुवाका विभिन्न स्वरुपमा पोषक तत्व पु¥याएर बिरुवाको भविष्य स्वस्थ हुने नहुने निर्धारण गरी सुरक्षा गर्छ, त्यसैगरी भाषाले प्रत्येक व्यक्ति तथा समुदायको संस्कृति आउने सन्ततिमा हस्तान्तरण गरी पहिचानको अस्तित्व स्थापित गर्छ ।
भाषा हाम्रो जरा हो, अब आजभोलि यही जरोमा किरा लाग्न सुरु गरेको छ, धमिराले काठ खाएझैं खान थालेका छन् । भिएना विश्व विद्यालयमा संस्कृत, नेपाली, नेवारी भाषा अध्ययन अध्यापन भइरहँदा त्यहाँको उदगममा भने भाषाको मुहान सुकिरहेको छ, खडेरी लागिरहेको छ ।
हाम्रा भाषा किन मर्दै गइरहेको छ त ?
वर्तमान अवस्थामा विस्तारवाद कमजोर हुँदै गइरहेको भनिए पनि संसारमा भाषाको विस्तारवाद र सिण्डिकेट हावी भइरहेको भन्ने कुरामा कसैको दुईमत नहोला । यसले स्थानीय भाषा, संस्कृति तथा समुदायको पहिचानलाई मकैलाई पानी घट्टाले पिसे झैं पिसिरहेको छ । सबैभन्दा ठूलो धमिरा त शिक्षाबाटै सुरु हुन्छ जहाँ अंग्रेजी बाहेक अरु भाषामा कुरा गर्दा सजाय दिइन्छ । बाल मनोविज्ञानमा यसको असर कस्तो पर्छ होल सोचौं त । परिवारजनमा पनि आफ्ना सन्तानले मातृ भाषामा बोले भन्दा खरर अंग्रेजी बोल्दा हाम्रो छाती सगरमाथा भन्दा बढी अग्लिन्छ । व्यावसायिक रुपमा आय आर्जनको ढोका खोल्नका लागि भए पनि हामी बाध्य भएका छौं । यस शताब्दीको अन्त्यसम्ममा नब्बे प्रतिशत भाषाहरु लोप हुनेछन् भन्ने डरलाग्दो प्रक्षेपण त छँदैछ ।
आफ्नो मौलिक भाषाको बचाउ गर्न किन आवश्यक छ त ? आफ्नो ईतिहास र पूर्खासँग जोडिन, सांस्कृतिक सम्पदाको संरक्षण गर्न, समाजिक एकता तथा सद्भाव कायम गर्न । भाषा सञ्चारको माध्यम मात्र नभई ईतिहास, संस्कृति र पहिचान बोकेको ओजिलो अलमारी हो । आफ्नो पहिचान प्रतिको हाम्रो चिन्ता कमजोर हुँदा के हुन्छ उदाहरण अगाडि सर्वविदितै छ, भारतमा अंग्रेजको उपनिवेश र रुवान्डामा हुतु र तुत्सीबीचको युद्धलाई सायद हामीले बिर्सनु हुँदैन ।
यही समाजमा केही व्यक्तिहरु छन् जो आफ्नो पहिचान हराउँदै गइरहेको थाहा हुँदाहुँदै नि विकल्पहीन भई मन भारी बनाई लम्पसार परिरहेका छन् । बहुमतलाई यो कुरा पत्तै भएको छैन र औंलामा गन्न सकिनेहरु मात्र छन्, जसले यसको संरक्षणमा लागिपरेका छन् । तपाईंहरुलाई नि प्रश्न आखिरमा यसरी न आफ्नो पहिचान हराइरहेको पत्ता लागेको छ ! कि आफ्नो मातृभाषाको अस्तित्वको चीर हरण गरी आफैँ नागिएको थाहा नै पाइएको छैन ?
अतः नेपालका र हामी नेपालीहरुको मातृभाषाको पुनःजागरण अति आवश्यक छ । परिवार, शिक्षा प्रणाली, नीतिगत पुनरावलोकन र प्राथमिकीकरणमा ध्यान सबैको पुगोस । जय नेपाल, जय मातृभाषा ।…

