
झापा, २० चैत । झापामा ६९ औं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाइएको छ ।
झापा जिल्ला सहकारी संघको आयोजनामा आज बिर्तामोडमा विविध कार्यक्रमका साथ सहकारी दिवस मनाइएको हो । दिवसको अवसरमा सहकारी स्मारिका विमोचन, संघमा आबद्ध उत्कृष्ट सदस्य, पत्रकारलाई सम्मान गर्नुका साथै सदस्यहरूलाई उत्प्रेरणा प्रदान गरिएको छ ।
संघका अध्यक्ष प्रेमप्रसाद कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि बिष्टले प्रदेश सरकारले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि आवश्यक कामहरू गर्ने बताउनुभयो ।
आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको काम भइरहेको बताउँदै प्रमुख अतिथि बिष्टले बजेटमा सहकारीलाई समेट्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
संघले सहकारी दिवसको अवसरमा पत्रकार पुष्प खड्कालाई सम्मान गरेको छ । परिवेश मिडियाका प्रधान सम्पादक खड्कालाई नगद १० हजार ५५५ रुपैयाँसहित सम्मान गरिएको हो ।
त्यस्तै, संघले उत्कृष्ट बचत तथा ऋण सहकारीतर्फ डाँफे बचत तथा ऋण सहकारी संस्था दमक, उत्कृष्ट कृषि सहकारीतर्फ लखनपुर साना किसान कृषि सहकारी संस्था कमल, उत्कृष्ट बहुउद्देश्यीय सहकारीतर्फ जुरोपानी बहुउद्देश्यीय सहकारी संस्था गौरादह, उत्कृष्ट बचत कारोबारतर्फ गौरवशाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोड, उत्कृष्ट कर्जा कारोबारतर्फ ऋद्धि शिद्धि महिला सहकारी संस्था अर्जुनधारालाई नगद १० हजार ५५५ रुपैयाँसहित सम्मान गरेको छ ।

त्यस्तै, संघले दिवसकै अवसरमा उत्कृष्ट व्यवस्थापकतर्फ चार जनालाई सम्मान गरेको छ । उत्कृष्ट महिला व्यवस्थापकतर्फ एकता बहुउद्देश्यीय सहकारी संस्था हल्दिबारीकी व्यवस्थापक उमा राई र मेची मासु उत्पादक सहकारी संस्थाकी व्यवस्थापक अनिता गुरागाईंलाई सम्मान गरेको छ ।
यस्तै, पुरुष व्यवस्थापकतर्फ तारापुञ्जा बचत तथा ऋण सहकारी संस्था मेचीनगरका व्यवस्थापक मोहन अधिकारी र सूर्योदय बचत तथा ऋण सहकारी संस्था भद्रपुरका व्यवस्थापक माउन्टेन गुरुङलाई सम्मान गरिएको छ । उत्कृष्ट व्यवस्थापकका रूपमा उनीहरुलाई नगद ५ हजार ५५५ रुपैयाँसहित सम्मान गरिएको हो ।
सम्मानित संस्था एवम् व्यक्तित्वहरूलाई प्रमुख अतिथि सभामुख बिष्ट, केन्द्रीय चिया उत्पादक संघका अध्यक्ष हर्क तामाङ, केन्द्रीय कृषि सहकारी संघकी उपाध्यक्ष मिनाकुमारी ढकाल, राष्ट्रिय सहकारी बैंकका लेखा समिति संयोजक लक्ष्मी उप्रेती, संघ सल्लाहकार रामचन्द्र उप्रेती, सल्लाहाकार समिति सदस्य हरिचरण बानिया, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष युवराज गिरी लगायतले सम्मानपत्र दोसल्ला र नगदसहित सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रशिक्षक मोटिभेटर सौनक भट्टले सदस्यहरूलाई उत्प्रेरणा प्रदान गर्नुभएको थियो । संघका सचिव भवानीप्रसाद दंगाल (भानु)ले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत संघका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा संघमा आबद्ध सदस्य संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।



