
झापा, २ फागुन । झापाको बिर्तामोड नगरपालिका–२ स्थित कछुबारीबाट प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।
बिर्तामोड–२ कछुबारीका गोबिन्द बस्नेतको घरमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त टोलीले चेकजाँच गर्दा लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ प्लास्टिकसहित ११ ग्राम ४६० मिलिग्राम (प्लास्टिक बाहेक ८ ग्राम ४४० मिलिग्राम), ३ वटा स्क्रिनटच मोबाइल, नगद ६ हजार र २५ हजारको चेकसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बिर्तामोड–९ का ४२ वर्षीय तिलक बुढाथोकी,बिर्तामोड–२ का ४२ वर्षीय गोबिन्द वस्नेत, बिर्तामोड–३ का ५२ वर्षीय टंक गिरी र बिर्तामोड–४ का २८ वर्षीय उदय साह रहेका छन् । पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

