
विर्तामोड, ३ फागुन । नेपाली कांग्रेसका नेताहरुले वीपी कोइरालाले युवाहरुलाई राजनीतिमा अत्यन्तै महत्व दिएको उल्लेख गर्दै अवको राजनीतिमा शिक्षित एवं प्रविधिमा दक्ष युवाहरुको आवश्यकता औंल्याएका छन् ।
नेपाली कांग्रेस झापा क्षेत्र नं–२ निर्वाचन परिचालन समितिको आयोजनामा बिर्तामोडमा आइतबार सम्पन्न नेविसंघ, तरुणदल एवं युवाहरुको भेलालाई सम्बोधन गर्दै यस्तो आवश्यकता औंल्याएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुधिरकुमार शिवाकोटीले पार्टीमा नेतृत्व परिवर्तन गर्नुपर्ने युवाहरुको मागलाई नेपाली कांग्रेसले सम्बोधन गरेको बताउँदै अब युवाहरुलाई देशको नेतृत्वमा पु¥याउने काममा प्रभावकारी भूमिका खेल्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य उमा शिवाकोटीले अहिले फिजिकल भन्दा डिजिटल प्रचार–प्रसार बढी प्रभावकारी देखिन थालेको बताउँदै रुख चिन्हबाहक उम्मेद्वारले चुनाव जित्नेगरी डिजिटल प्रचार–प्रसार गर्न युवाहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा कोशी प्रदेशका सभापति उद्वव थापाले ब्यक्ति होइन विचार बलवान हुन्छ भन्ने सीके प्रसाईको मान्यता र वीपीको विचार कांग्रेसको राजनीतिक आधार भएको बताउँदै बद्लिएको कांग्रेसलाई देशको नेतृत्वमा पु¥याउने कार्यमा भूमिका खेल्न युवाहरुलाई आग्रह गर्नुभयो । स्वतन्त्र तरिकाले आफ्नो मत प्रयोग गर्न पाउने जनअधिकारको रक्षा गर्न पनि उहाँको आग्रह थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट झापा क्षेत्र नं–२ का उम्मेद्वार सरिता प्रसाईले नेविसंघ, तरुण दल र युवाहरु पार्टीको मेरुदण्ड भएको चर्चा गर्दै आफू नेविसंघ, तरुण दलमा संगठित हुँदै पार्टी राजनीतिमा पुगेको बताउनुभयो । जेनजी पुस्ता सबै राजनीतिक दलभित्र रहेको चर्चा गर्दै उहाँले नेपाली कांग्रेसको पक्षमा डिजिटल प्रचार–प्रसार तीव्र पार्न युवाहरुलाई आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस झापा क्षेत्र नं–२ का सभापति एवं निर्वाचन परिचालन समितिका संयोजक खगेन्द्र मैनालीले भेलाको औचित्यमाथि प्रकाश पार्दै संयमित र अनुशासित बन्दै शान्तिपूर्ण रुपमा पार्टीका उम्मेद्वार र पार्टीको पक्षमा प्रचार–प्रसार तीब्र पार्न युवाहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा सहजीकरण २ नम्बर क्षेत्रीय सचिव चन्द्र चुडालले गर्नुभएको थियो ।

