
झापा, ४ फागुन । झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको पेस्तोल, गोली र म्याग्जिन प्रहरीले बरामद गरेको छ ।
कनकाई नगरपालिका–८ मिश्रा टोलका तुलबहादुर थापा मगरको घर नजिकै रहेको कुखराको खोरबाट आइतबार दिउँसो प्रहरीले सीएफ ९८९ एमएम पेस्तोल एक थान, त्यसमा लाग्ने गोली ४० राउण्ड, उक्त पेस्तोलको म्याग्जिन एक थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो ।

‘तुलबहादुरको घरमा लागुऔषध र अवैध हातहतियार लुकाई छिपाई राखेको छ’ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीको संयुक्त टोलीले खानतलासी गर्दा उनका छोरा २२ वर्षीय सौगात थापा मगरले आफ्नै घर पछाडि रहेको कुखुराको खोरमा लुकाएर राखेको उक्त हतियार फेला परेको प्रवक्ता खड्काले बताउनुभयो ।
बरामद हतियार गत भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हातियार लुटपाटमा सम्लग्न कनकाई–८ का २२ वर्षीय सुजय राजवंशीलाई नियन्त्रणमा लिएर मुलुकी अपराध संहिता २०७४ बमोजिम अनुसन्धान तथा कारबाही थालेको छ भने सौगात थापा मगर फरार रहेको उनको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

