
झापा, ४ फागुन । झापाको गौरादह नगरपालिका–४ मजुवास्थित भित्री सडक खण्डमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार ५० वर्षीय भीमबहादुर दर्जी मकैबारीको पानीमा घोप्टो परेको अवस्थामा आज बिहान फेला परेका हुन् । घटनास्थल नजिकै प्रदेश नं. १–०१–०१६ प. ८९२४ नम्बरको मोटरसाइकल समेत क्षतिग्रस्त अवस्थामा भेटिएको छ ।

स्थानीयले बिहान करिब ७ बजे प्रहरीलाई खबर गरेपछि अनुसन्धान सुरु गरिएको थियो । प्रारम्भिक अनुसन्धानमा मृतक दर्जी आइतबार राति साथीको घर मजुवाबाट दुर्गाचोकतर्फ मोटरसाइकलमा आउँदै गरेको बुझिएको छ । घटनास्थलको प्रकृति र मोटरसाइकलको अवस्था हेर्दा सवारी दुर्घटनाका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
मोटरसाइकल नियन्त्रणमा लिएर घटनास्थल सुरक्षित राखिएको छ भने थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकबाट टोली खटिएको छ। आवश्यक प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

