
मोरङ, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र दिवस–२०८२ को अवसरमा विराटनगरमा आज बिहान प्रभातफेरी निकालिएको छ ।
मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयबाट निकालिएको प्रभातफेरी नगरको विभिन्न भागको परिक्रमा गर्दै जन–आन्दोलन चोकमाा आएर सभामा परिणत भएको थियो । प्रभातफेरीमा कोसी प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य, राष्ट्रसेवक कर्मचारी, विद्यार्थी, सुरक्षा निकायका प्रमुख, विभिन्न संघसस्थाका प्रतिनिधिको हरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

सो अवसरमा बोल्नुहुँदै कोसी प्रदेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली जनताले त्याग र बलिदानबाट ल्याएको लोकतन्त्र र प्रजातन्त्रलाई जोगाउन प्रजातान्त्रिक आन्दोलनका सहभागी सम्पूर्ण शक्ति एकताबद्ध हुनुपर्ने बताउनुभयो ।
उहाँले नेपालको संविधानमाथि अहिले विभिन्न तवरले प्रहार गर्ने प्रयास भइरहेकाले प्रजातन्त्र दिवसको महत्त्वपूर्ण दिनमा नेपालको लोकतान्त्रिक संविधान र प्रजातन्त्रलाई जोगाउन सबैले साझा सङ्कल्प गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
मुख्यमन्त्री कार्कीले अहिले भावना र उत्तेजना महकिने भन्दा पनि विवेकपूर्ण निर्णय र सोच विचार गरेर अघि बढ्नु आवश्यक रहेको बताउनुभयो । समुन्नत समाजको निर्माणमा आजको दिनले प्रेरणा मिलोस् भन्नुहुँदै मुख्यमन्त्री कार्कीले मुलुकको शासन व्यवस्था र मुलुकको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता लाई बचाई राख्न हामीले महत्त्वपूर्ण योगदान गर्ने वेला आएको बताउनुभयो ।

