
झापा, २३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन निर्वाचन क्षेत्र नम्बर २ का सांसद रवि लामिछानेले आफूहरूले नागरिक समक्ष गरेका बाचालाई पालना गरेर अगाडि बढ्ने बताउनुभएको छ ।
चितवन क्षेत्र नम्बर २ बाट ५४ हजार ४०२ मत ल्याएर विजयी हुनुभएका लामिछानेले निर्वाचन कार्यालयबाट प्रमाणपत्र लिएरपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै इतिहासले नै आफूहरुलाई ठूलो जिम्मेवारी प्रदान गरेकाले आगामी दिनमा सम्हालिएर नआत्तिकन अगाडि बढ्ने बताउनुभयो ।

सभापति लामिछानेले नागरिकका आम अपेक्षाका बारेमा आफू जानकार रहेको भन्दै सबैलाई समेटेर अगाडि जाने बताउनुभयो । उहाँले यो तहको नतिजा आफूहरूको पक्षमा आएकोमा खुसी भएको भन्दै जनताले चाहेका विषयबारे सम्वादमै रहेको बताउनुभयो ।
उहाँले जनताको अपेक्षा अनुसार काम गर्न नसके आफूहरूको अवस्था पनि अहिलेका केही दलहरूको जस्तो हुनेमा सचेत रहेको बताउनुभयो । ‘आगामी बाटो सजिलो छैन, तर असम्भव पनि छैन, मात्तिएर, आत्तिएर हैन सम्हालिएर सुझबुझ तरिकाले जान्छौं,’ सभापति लामिछानेले भन्नुभयो, ‘फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं ।’
विजयी भएपछि हौसिएर उत्तेजित भई कसैलाई पनि नराम्रो व्यवहार नगर्न र जहिल्यै अरुको सम्मान गर्न आफ्ना कार्यकर्ताहरुलाई उहाँले आग्रहसमेत गर्नुभएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

