
सन्तोष शर्मा
झापा, २५ फागुन । झापामा प्रतिनिधि सभा सदस्यको निर्वाचन अन्तरगत बिहीबार भएको मतदानमा महिला मतदाताले बढी मतदान गरेका छन् ।
जिल्लामा पुरुषको तुलनामा २५ हजार दुई सय ६८ जना बढी महिला मतदाताले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेमप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा चार लाख ५७ हजार चार सय ३५ मत खसेको छ । जसमध्ये पुरुषको संख्या दुई लाख १६ हजार ८२ रहेको छ भने महिलाको संख्या दुई लाख ४१ हजार तीन सय ५० महिला मतदाता रहेका छन् । तीन जना अन्य समेत रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
जिल्लामा महिला मतदाताको तुलनामा पुरुष मतदाता बढी भए पनि मतदान गर्नेमा महिलाको संख्या बढिरहेको छ । जिल्लामा पुरुष मतदाताको संख्या तीन लाख ५८ हजार तीन सय ४६ र महिला मतदाताको संख्या तीन लाख ५५ हजार एक सय ८३ जना रहेका छन् ।
कुन क्षेत्रमा कति मतदान ?
झापामा समग्रमा ६४.११ प्रतिशत मतदान भएको छ । जसमध्ये झापा क्षेत्र नम्बर २ मा सबैभन्दा बढी ६५ दशमलव ३७ प्रतिशत मत (९६ हजार चार सय ३६) खसेको छ भने सबैभन्दा कम झापा क्षेत्र नम्बर ४ मा ६२ दशमलव ८२ प्रतिशत (८२ हजार एक सय १७) मत खसेको छ ।
त्यस्तै, झापा क्षेत्र नम्बर १ मा ६३ दशमलव ९० (८३ हजार सात सय ५३), झापा क्षेत्र नम्बर ३ मा ६२ दशमलव ८७ मत (८८ हजार पाँच सय ६१) मत खसेको छ भने झापा क्षेत्र नम्बर ५ मा ६५ दशमलव २३ प्रतिशत (एक लाख छ हजार पाँच सय ६८) मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
झापामा कूल मतदाताको संख्या सात लाख १३ हजार पाँच सय ३७ रहेको छ । जिल्लाभरिका दुई सय ८५ मतदानस्थलका आठ सय १५ मतदान केन्द्रमा मतदान भएको थियो ।
विसं. २०७९ को निर्वाचनमा झापामा कूल ७० प्रतिशत मत खसेको थियो । त्यसबेला झापामा छ लाख ६३ हजार तीन सय ११ जना मतदाता रहेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

