
झापा, २४ फागुन । झापा जिल्लामा दुई छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा करिब साढे चार लाख बराबरको क्षति भएको छ।
भद्रपुरमा आगलागी
मिति २०८२ फागुन २४ गते दिउँसो करिब १:१५ बजे भद्रपुर नगरपालिका–९ बुद्धटोलमा मंकरध्वज आङदेम्बेको जस्ताको छाना र बाँसको चित्राले बनेको एक तले भान्साघरमा चुलोबाट आगो सल्किँदा ठूलो क्षति भएको हो। आगलागीमा ग्यास सिलिण्डर, अन्नपात, लत्ताकपडा, भाँडाकुडा, साईकल, फर्निचर लगायतका सामान पूर्ण रूपमा जलेर नष्ट भएका छन्। यस घटनाबाट करिब रु. ३,००,००० बराबरको क्षति भएको प्रहरीले जनाएको छ। आगो स्थानीयवासी, प्रहरी चौकी घोडामारा र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा करिब १:४५ बजे नियन्त्रणमा लिइएको थियो।

गौरादहमा ग्वालीमा आगलागी
त्यसै दिन राति करिब १२:३० बजे गौरादह नगरपालिका–७ सूर्यदयटोलमा पुष्प लाल चौलागाईको टिनको छाना भएको दुई कोठे ग्वालीमा विद्युत् सर्ट भई आगलागी भएको हो। आगलागीमा ग्वाली पूर्ण रूपमा जलेर नष्ट भएको छ। भित्र रहेका धान ५ मन, चोकर १ बोरा (५० केजी), झ्याल–ढोकाको काठ तथा विद्युत् मिटर बक्स जलेर करिब रु. १,५०,००० बराबरको क्षति भएको छ। आगो स्थानीयवासी तथा गौरादह नगरपालिकाको दमकलको सहयोगमा करिब १:३० बजे नियन्त्रणमा लिइएको थियो।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

