
द्रोण अधिकारी
झापा, २४ फागुन । दमकमा निर्माण सम्पन्न भएको भ्यूटावर नै केपी शर्मा ओलीको निर्वाचन २०८२ को हारको कारण हुन सक्छ भन्ने मत गएको साउनयता झापामा चर्चाको विषय बन्दै थियो । कसरी हारको कारण हुन सक्छ ? भ्यूटावर भन्ने प्रश्नमा तर्क गर्नेहरू देशका विकट ठाउँमा अस्पताल र विद्यालय बन्न जानु पर्ने वजेट खोसेर राजनीतिक दाउपेचका लागि झापाको दमकमा छरेपछि सयमले सजाय दिने अवस्था आउँछ भन्नेहरूको आवाज अहिले सार्थक जस्तै लाग्न थालेको छ ।
खासगरी भदौ २३ को विद्रोह र २४ को बिध्वम्सपछि ओलीमाथि प्रहार गर्ने आधारहरू मध्ये यस टावरलाई राजयकोष दुरूपयोगको आधारका रूपमा स्थापित गर्न रास्वपा सफल हुँदा झण्डै ५० हजार मतान्तरण सहित बालेन्द्र (बालेन) शाह निर्वाचित हुन पुगे । हुन त ओलीको पराजयको प्रमुख कारक भ्यूटावर नभएर दम्भको राजनीति हो तर ओलीले विकट र निमुखा बस्तीतिर पठाउनु पर्ने धेरै विकास वजेट आफ्नो क्षेत्रमा खन्याउदा त्यही भौतिक विकासका काम कार्यकर्ता र मतदाताबीच फाटो ल्याउने आधार बन्दा यस निर्वाचनमा नराम्ररी पराजय भोग्नु पर्ने अवस्था निर्माण भएकोचाँहि सत्य मान्नै पर्छ ।

२०८१ सालयता चहलपहल बढ्दै गएको दमक ३ दापगाछी ढुकुरपानी क्षेत्र २०८२ भदौ २४ पछि निकै सुनसान छ । यसको कारण हो निर्माण सम्पन्न भएको भ्यूटावर क्षतविच्छेद हुनु अनि आन्तरिक पर्यटक आउन बन्द छोड्नु ।
‘दमक भ्यूटावर’ मा २०७६ सालदेखि चौकीदारको काम गरिरहेका शोभाकान्त चौधरीका अनुसार निर्माण थालिएको ६ वर्षपछि टावरले आफ्नो स्वरूप देखाएको थियो । २५ जना मानिसले पूर्ण रोजगारी पनि पाएका थिए भने आधा दर्जन बढीले टावर बाहिर व्यापार गर्ने अवसर पनि पाएका थिए । प्रत्यक्ष अप्रत्यक्ष दर्जनौ व्यक्तिले स्वरोजगारको वातावरण पनि पाएका थिए । कुनै बेलाको स्याल कराउने अनकन्टार क्षेत्रमा दैनिक सयौं व्यक्ति धुम्न आउने भीडभाड स्थान बन्दा आयश्रोतका बाटाहरू खुल्ने अवसर स्थानीयमा बढ्दै थियो ।
गत साउनबाट सञ्चालनमा भ्यूटावर आएपछि राम्ररी अन्न पनि नउब्जिने रूखो खेत अहिले महंगो घडेरीमा रूपान्तरण भइसकेको छ । भदौ २४ को बिध्वम्सपछि भने भ्यूटावर पनि बन्द भयो आसपासको जग्गा किनबेच पनि सून्यमा पुगेको स्थानीय बताउँछन् ।
करिब एक महिना सञ्चालनमा आउँदा ‘दमक भ्यूटावर’ मा आन्तरिक पर्यटकले मात्र ७ लाख शुल्क तिरेको विवरण चौकीदार चौधरीको सुनाउछन् । उनका अनुसार सिसाका सवै संरचना फुटेका छन् भने भित्र राखिएका महंगा सामग्री सवै लुटेर लगिएको अवस्था छ । जसका कारण अहिले भ्यूटावरमा प्रवेश निषेध गरिएको छ । आन्तरिक पर्यटक पनि आउन छोडे भने टावरमा आम्दानी पनि छैन ।
राज्यको अरबौं खर्च भएर तयार भएको अन्तर्राष्ट्रिय स्तरको १०० मिटरभन्दा अग्लो २५ तल्लाको भ्यूटावर निर्माण सम्पन्न भएर सञ्चालनमा नआइ क्षतविच्छेद अवस्थामा पुगेको छ । नेपालकै राष्ट्रिय गौरवको परियोजनाको रूपमा दमक नगरपालिका ३ दापगाछी स्थित ढुकुरपानीमा निर्माण भएको ‘दमक भ्यूटावर’ भदौ २४ को बिध्वम्समा पर्दा क्षतविच्छेद अवस्थामा अलपत्र परेको हो ।
टावर अगाडि सडकमा चिया पसल चलाउँदै आएकी पवित्रा धिमालको भनाइमा अहिले शनिवार मात्र केही व्यक्तिहरू भ्यूटावर हेर्न आउँछन् तर भित्र पसेर अवलोकन गर्न नसकिने अवस्था भएकाले आन्तरिक पर्यटक आउनै छोडेको वास्तविकता छ । उनका अनुसार भ्यूटावर सञ्चालनमा रहेका बेला विदाका दिन चार—पाँच सयबढी व्यक्ति घुम्न आउथे भने अन्य दिन पनि ४०—५० जनाको संख्या घट्दैन थियो तर अहिले विदाका दिनमा पनि ५० जना मानिस समेत आएको अवस्था छैन ।
पूर्वपश्चिम राजमार्गको कृष्ण मन्दिर सडकखण्डबाट करिव २ किलोमिटर टाढा निर्माण गरिएकोे भ्यूटावर कुल ५ बिगाह क्षेत्रफलमा बनेको अन्तर्राष्ट्रिय स्तरको संरचना हो । टावरको १८ तल्लासम्म पक्की संरचना छ भने ७ तल्लाको स्टिलको संरचना रहेको छ ।
नेपालकै राष्ट्रिय गौरवको परियोजनाको रुपमा ‘दमक भ्यूटावर’को निर्माण दमक बजारभन्दा तीन किलोमिटर टाढा ढुकुरपानी गाउँमा वि.सं. २०७६ असार २७ गते सुरू भएको थियो । तीस महिनाभित्र कार्य सम्पन्न गर्ने सम्झौताका साथ चिनियाँ कम्पनी सीजीआइइसी र आशिष ओम साइराम जेभीले साझेदारीमा निर्माणको ठेक्का लिएका थिए ।
‘दमक भ्यूटावर’को निर्माणमा एक अर्ब ३८ करोड १८ लाख ४ हजार ५६९ लाग्ने सुरुको सम्झौता थियो । तर, विभिन्न ‘भेरियसन’मा काम थप्नु पर्ने भएकाले नौ प्रतिशत लगानी बढेर कूल लागत भ्याट बाहेक रु. एक अर्ब ५० करोड ६३ लाख ८५ हजार ९६४ पुगेको थियो ।
विदेशी कुनै पनि दाताको सहयोग नलिकन राष्ट्रिय गौरवको आयोजना बनाएरे यसको सम्पूर्ण लागत नेपाल सरकारले व्यहोरेको थियो । आर्थिक वर्ष २०८०÷०८१ मा निर्माण सम्पन्न भएको भए पनि २०८२ साउनबाट अवलोकनका लागि खुल्ला गरिएको टावर एक महिना नबित्तै आन्दोलनका नाममा तोडफोडमा परेर तहसनहस भएको थियो ।
परियोजनाको निर्माणमा स्थानीयबासीको अपनत्व गाँसिएको थियो । जसका कारण ‘दमक भ्यूटावर’का लागि स्थानीयबासीले पाँच विगाहा जग्गा दानमा दिएका थिए । भ्यूटावर निर्माण सम्पन्न नहुञ्जेल तीन वर्ष अघिसम्म कठ्ठाको दुई लाखमा नबिक्ने भ्यूटावर वरिपरिको जग्गा अहिले धुरको चार लाख कटिसकेको स्थानीयको भनाइ छ । माल पाएर चाल पाइएन भने राम्रो नराम्रो छुट्टिदैन भन्ने उखान ‘दमक भ्यूटावर’ मा लागू भएको छ । भदौ २३ को घटनापछि यस भ्यूटावरमा घुम्न आउने अधिकाम्स मानिस कमिशन खान ओलीले राज्य कोष दोहन गरेर बनाइएको संरचाना भन्दै आलोचना गरेर फर्कने गरेको त्यहा भेटिएका स्थानीय सुनाउँछन् ।
भ्यूटावर बनिएसंगै अनकण्टार गाँउको मुहारमा परिवर्तन गर्न सडक स्तरीकरण भयो अनि दमक बजारसित रहेको शहरीकरणमा सहजै जोडेको भए पनि यस उन्नतिलाई त्यहाका बासिन्दाले विकास नै मानेका छैनन् । विकट गाउँलाई सडकको पहुँच पुग्नु मात्र उन्नति ठान्नु हुँदैन भन्ने मत आसपासका बासिन्दामा देखिएको छ । यी सवै घटना हेर्दा केपी ओलीले मैले मेरो क्षेत्रमा जनि विकास कसैले गरेको छैन भन्ने घमण्ड मात्र रहेछ भन्न सकिन्छ । जुन कुरा यस निर्वाचनमा जनमतले समेत प्रमाणि गरिदिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

