
झापा, २८ फागुन । मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन्।
प्रहरीचौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति बञ्चरो प्रहार भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो। आक्रमणमा तामाङ घाइते भएका हुन्।
प्रहरीले आत्मरक्षाका लागि एक राउन्ड गोली चलाउँदा हेटौँडा उपमहानगरपालिका–१२ हात्तीगौडाका १९ वर्षीय सनिस घाइते भएका छन्। दुवै घाइतेलाई हेटौँडास्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।
यस घटनामा संलग्न हेटौँडा उपमहानगरपालिका–१२ हात्तीगौडाका २४ वर्षीय सञ्जय जिम्बा र ३५ वर्षीय अजय थिङलाई प्रहरीले पक्राउ गरेको छ।


