बिर्तामोड, १४ साउन । बिर्तामोड नगरपालिकाले सडक क्षेत्राधिकारभित्र रहेका अस्थायी तथा स्थायी संरचना हटाउने कार्य हाललाई स्थगित गरेको छ ।
नगरपालिकाले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाको अन्तिम फैसला नआउँदासम्म यसअघि प्रकाशित सूचना बमोजिम संरचना हटाउने तथा भत्काउने कार्य रोकिएको जनाएको हो ।

नगरपालिकाका अनुसार २०८३ असार २७ गते सडक क्षेत्राधिकारभित्र रहेका संरचना हटाउने सम्बन्धी सूचना प्रकाशित गरिएको थियो । उक्त सूचनाविरुद्ध वडा नं. ५ का पवन अग्रवाल खेतिया, भवानीप्रसाद खेतेल, राधादेवी निरौला, लक्ष्मी उदास, दशरथ पराजुली, पुनमकुमारी साह, छविलाल अग्रवाल, बजरङ अग्रवाल, भीमकुमारी सिटौला तथा चन्द्रप्रसाद बजगाईंले संयुक्त रूपमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सर्वोच्च अदालतले २०८३ साउन १३ गते अन्तरिम आदेश जारी गरेपछि नगर कार्यपालिकाको साउन १४ गते बसेको बैठकले अदालतबाट अन्तिम फैसला नभएसम्म संरचना हटाउने तथा भत्काउने कार्य स्थगित गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले जानकारी दिनुभयो ।
नगरपालिकाले सम्बन्धित सबै पक्षलाई उक्त निर्णयको जानकारी गराउँदै सर्वोच्च अदालतको अन्तिम आदेशपछि मात्रै आवश्यक प्रक्रिया अगाडि बढाइने जनाएको छ ।




