
सुनसरी, २८ फागुन। सुनसरीको कोशी गाउँपालिका–४ मा बुधबार जिप दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–२ निवासी २८ वर्षीय अमरलाल साह रहेको प्रहरीले जनाएको छ। प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका साहको उपचारका क्रममा मृत्यु भएको हो।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत इनरुवाबाट कोशी ब्यारेजतर्फ जाँदै गरेको स १ च ९२१ नम्बरको जिपले विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०६–००१ प ०९५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक अमरलाल साह र पछाडि सवार २६ वर्षीया पुष्पा साह गम्भीर घाइते भएका थिए।
घाइतेमध्ये अमरलालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ भने अर्की घाइते पुष्पा साहलाई थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको छ।
दुर्घटनामा संलग्न जिप चालक सुनसरीको कोशी गाउँपालिका–४ का २६ वर्षीय रञ्जित चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

