
भोजपुर, ४ चैत । भोजपुर नगरपालिका–१२, कोटडाँडास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गुल्म हेडक्वाटरको ब्यारेकको छाना सोमबार रातिको हावाहुरीले उडाएपछि सुरक्षाकर्मीलाई बसोबासमा समस्या भएको छ।
गुल्म प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक दिब्यराज कोइरालाका अनुसार हावाहुरीसँगै वर्षा भएकाले सुरक्षाकर्मीलाई थप कठिनाइ भएको छ।
हावाहुरीले जिल्लाभर घर, विद्यालय, स्वास्थ्य संस्था, रेडियो टावर तथा नेपाल टेलिकमको टावरमा क्षति पुर्याएको जिल्ला प्रहरी प्रमुख राजु लामाले बताए। क्षतिको विवरण संकलन भइरहेको छ।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी राजन पौडेलले विवरण संकलनपछि राहतबारे छलफल हुने जानकारी दिएका छन्। स्थानीय तहहरूले राहत तथा क्षतिको विवरण संकलन गरिरहेका छन्।


