
झापा, ८ चैत । झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–४ टिमाईमा चितुवाको आक्रमणमा परी चार जना घाइते भएका छन् ।
बुद्धशान्ति–४ टिमाइका कमल खड्काको मकैबारीमा आज दिउँसो करिब १ बजे घाइते अवस्थामा भेटिएको चितुवालाई नियन्त्रणमा लिन प्रहरी टोलीले डिभिजन वन कार्यालय झापासँग समन्वय गरी कोशी टप्पु वन्यजन्तु आरक्षण सुनसरीबाट विशेषज्ञ टोलीलाई बोलाएको थियो ।
विशेषज्ञ टोली साँझ करिब ६ बजे घटनास्थल पुगेपछि चितुवालाई नियन्त्रणमा लिने प्रयास गर्दा चितुवा आक्रामक बनेर सुरक्षामा खटिएका सशस्त्र प्रहरी नायब निरीक्षक केदार श्रेष्ठलाई आक्रमण गर्यो । चितुवाको आक्रमणमा श्रेष्ठको अनुहार, हात–खुट्टा, कान तथा बायाँ पाखुरासहित शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यसैगरी, झापा बुद्धशान्ति–६ का ५० वर्षीय कृष्ण गजमे, ५४ वर्षीय दुर्गाबहादुर कटुवाल र मेचीनगर–१० का २६ वर्षीय विशाल कार्कीलाई समेत चितुवाले आक्रमण गरी सामान्य चोट पुर्याएको छ । घाइते चारै जनाको उपचार बुद्धशान्ति स्थित भागिरथा न्यौपाने अस्पतालमा भइरहेको छ ।
चितुवाले स्थानीयबासीलाई समेत आक्रमण गर्न थालेपछि स्थानीयले कुटपिट गर्दा चितुवाको मृत्यु भएको छ । मृत चितुवालाई आवश्यक प्रक्रिया पूरा गर्न जिल्ला डिभिजन वन कार्यालय झापामा लगिएको छ ।


