
मोरङ, १२ चैत । विराटनगरमा गत चैत ६ गते आफ्नै श्रीमती कोमल कुमारी साहको हत्या गरी शव लुकाउने प्रयास गरेको आरोपमा उनका श्रीमान् रोशन साह र जेठाजु दिपेन्द्र साहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार रोशनले श्रीमतीलाई सारी र गलबन्दीले घाँटी कसी हत्या गरेका थिए । शवलाई तन्नामा पोको पारेर दाजुसँग मिलेर सिटी सफारीमा राखी छाला फ्याक्ट्री नजिकैको नालीमा फालेका थिए ।
शव फालेको दुई दिनपछि रोशनले प्रहरीमा ‘श्रीमती हराएको’ भन्दै निवेदन दिएर अपराध लुकाउने प्रयास गरेका थिए । तर, चैत १० गते स्थानीयले शव फेला पारेपछि अनुसन्धानले उनीहरूलाई दोषी ठहर गरेको हो ।
प्रहरीले घटनामा प्रयोग भएको सवारीसाधनसहित प्रमाण संकलन गरेको छ । अदालतले दुवै अभियुक्तलाई ‘कर्तव्य ज्यान’ मुद्दामा थप पाँच दिनको म्याद दिँदै विस्तृत अनुसन्धान अघि बढाएको छ ।


