
झापा, १६ चैत । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित बाइस बिघे जङ्गलमा १३ वर्षीया बालिकामाथि निर्घात कुटपिट गरिएको घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सामाजिक सञ्जालमा घटनाको भिडियो सार्वजनिक भएपछि प्रहरीले दोषीहरूको खोजी तीव्र पारेको थियो। इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले घटनामा संलग्न २१ वर्षीय सुदिन राई, २० वर्षीय निशान राई तथा अर्का १७ वर्षीय नाबालकलाई चैत १३ देखि १५ गतेसम्म विभिन्न स्थानबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई बालबालिका विरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाउन सुनसरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काले भिडियोका आधारमा थप प्रमाण सङ्कलन भइरहेको जानकारी दिएका छन्। उनले घटनाको विस्तृत अनुसन्धान जारी रहेको बताए।


