
झापा, १६ चैत । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालभर सञ्चालनमा रहेका अनलाइन सट्टेबाजी एप ९बेटिङ एप० तथा वेबसाइट बन्द गराएको छ।
मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई २४ घण्टाभित्र सबै सट्टेबाजी एप र वेबसाइट बन्द गर्न निर्देशन दिएपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँगको समन्वयमा पहिचान भएका सबै एप तथा साइट बन्द गरेको हो।
सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालयका सचिव तथा महाशाखा प्रमुखहरूसँगको बैठकमा तत्कालै कारबाही गर्न निर्देशन दिएपछि प्रक्रिया सुरु भएको थियो। यसअघि चैत १३ गतेको मन्त्रिपरिषद् बैठकले अवैध रूपमा सञ्चालित अनलाइन बेटिङ बन्द गर्ने निर्णय गरेको थियो।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मुलुकी अपराध संहिता, २०७४ र विज्ञापन ९नियमन गर्ने० ऐन, २०६६ अनुसार सट्टेबाजी एप वा वेबसाइट सञ्चालन वा प्रयोग गर्नेलाई एक वर्षसम्म कैद वा रु १० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको उल्लेख छ।
साथै, मन्त्रालयले नेपालभर कुनै पनि विद्युतीय माध्यमबाट हुने सट्टेबाजी एप वा वेबसाइट प्रयोग नगर्न तथा अनधिकृत रूपमा प्रयोग भएमा प्रचलित कानुनअनुसार कडा कारबाही हुने चेतावनी दिएको छ।


