
दार्चुला, १७ चैत । दार्चुलाको शैल्यशिखर नगरपालिका–४ ओसिलामा आज बिहान जीप दुर्घटना हुँदा सिँचाइ कार्यालयका दुई जना कर्मचारीको ज्यान गएको छ ।
सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६४१ नम्बरको जीप दुर्घटना हुँदा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत सब–इन्जिनियर मालिकार्जुन गाउँपालिका–७ की मनिषा पाल र अर्का कर्मचारी शैल्यशिखर–१ का भरतबहादुर तितराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
दुर्घटनामा जीप चालकसहित चार जना घाइते भएका छन् । शैल्यशिखर नगरपालिका–४ का जीप चालक प्रकाश ठगुन्ना, विक्रम महर, अकबर महरा र मीनबहादुर पाल घाइते हुनुहुन्छ । उहाँहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । जीप दुर्घटना हुनुको कारण नखुलेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।रासस
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


