
उदयपुर, १७ चैत । बैङ्कमा राखेको खाताको रकम हिनामिना गरेको आरोपमा नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क गाईघाट शाखामा कार्यरत एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।
बैङ्ककै कर्मचारीको निवेदनका आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यसरी पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका–५ की सुनिता बानियाँ रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार बैङ्ककै औपचारिक उजुरीका आधारमा बानियाँलाई नियन्त्रणमा लिएर बैङ्किङ कसुरमा अनुसन्धान अघि बढाइएको हो। उहाँले भन्नु भयो, “बैङ्क व्यवस्थापनबाट आएको उजुरीपछि बानियाँलाई पक्राउ गरिएको हो, हाल घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।”
प्रारम्भिक अनुसन्धानका क्रममा बानियाँले बैङ्कमा रहेको रकम दुरुपयोग गरेको देखिएको प्रहरीको भनाइ छ। बैङ्क व्यवस्थापनले आन्तरिक रूपमा गरेको छानबिनबाट अनियमितता पुष्टि भएपछि घटनाबारे प्रहरीलाई जानकारी गराएको थियो।
हाल बानियाँ प्रहरी हिरासतमा हुनुहुन्छ उहाँ विरुद्ध बैङ्किङ कसुर तथा ठगीसम्बन्धी मुद्दामा अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ। यस प्रकरणमा अन्य व्यक्तिको समेत संलग्नता रहेको वा नरहेको विषयमा पनि सूक्ष्म रूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनासम्बन्धी थप तथ्य र रकमको यथार्थ विवरण सङ्कलन गर्ने काम तीव्र रूपमा अघि बढाइएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


