
झापा, १९ चैत । आज १९औँ विश्व अटिजम सचेतना दिवस मनाइएको छ । ‘अटिजम र मानवताः हरेक जीवनको मुल्य छ’ भन्ने नाराका साथ दिवस मनाइएको हो ।
विश्वभर कार्यक्रम गर्दै गर्दा नेपालमा अटिजम भएका बालबालिकाको अवस्था, सेवा पहुँच र नीतिगत व्यवस्थाबारे गम्भीर प्रश्नहरू उठिरहेका छन् । अटिजम स्पेक्ट्रम डिसअर्डर ९एएसडी० एक न्यूरो–विकासात्मक अवस्था भएको र जसका कारण बालबालिकाको व्यवहार, सञ्चार क्षमता र सामाजिक अन्तरक्रियामा प्रभावित हुने झापामा आयोजित एक पत्रकार सम्मेलनमा जानकारी दिइयो । समान भविष्य फाउण्डेशन र न्याय र विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी) ले संयु्क्त रुपमा आयोजना गरेको पत्रकार भेटघाटमा नेपालमा अटिजमसम्बन्धी चेतना विस्तार हुँदै गएको भए पनि पहिचान, सेवा र सहयोग प्रणाली अझै अपर्याप्त रहेको दिएको जानकारी दिइयो ।
झापामा अटिजम भएका बालबालिकाको संख्या उच्च रहेको कार्यक्रममा जानकारी दिइएको छ । करुणा फाउन्डेसन ९२०२५० को तथ्यांकअनुसार झापा जिल्लामा अटिजम भएका बालबालिकाको संख्या २६१ जना पुरुष र ८५ जना महिला गरी ३४६ पुगेको एसएनजेडीका कार्यक्रम संयोजक तथा समान भविष्य फाउण्डेशनका सञ्चालक कुमार चुँडालले जानकारी दिए । आफ्ना बालबालिकामा अटिजम छ भन्ने कुरा अभिभावकले स्वीकार नगर्दा यो संख्या कम देखिएको हुन सक्ने उनको भनाई छ ।
झापाका बिर्तामोड, अर्जुनधारा र मेचीनगरमा अटिजम भएका बालबालिकाको संख्या उच्च देखिएको छ भने ग्रामीण क्षेत्रमा कम रहेको छ । यसले एकातिर पहिचान बढ्दै गएको संकेत गरे पनि अर्कोतर्फ सेवा विस्तारको आवश्यकता झन् बढेको देखाउँछ ।
नेपालको संविधान २०७२, अपाङ्गता अधिकार ऐन २०७४ तथा समावेशी शिक्षा नीतिले अटिजम भएका व्यक्तिको अधिकार सुनिश्चित गरे पनि व्यवहारिक कार्यान्वयन कमजोर रहेको आयोजकले जनाएको छ । हालसम्म अटिजमसम्बन्धी छुट्टै राष्ट्रिय नीति स्पष्ट रूपमा कार्यान्वयनमा नआउँदा बालबालिकाहरुको उचित शिक्षा र हेरचाहमा अभिभावकहरुले समस्या भोग्नु परिरहेको चुडालले जानकारी दिए ।
प्रारम्भिक पहिचान र निदानको अभाव, विशेषज्ञ सेवा तथा जनशक्ति कमी, समावेशी शिक्षा प्रणाली कमजोर, स्पिच तथा अकुपेशनल थेरापी सेवाको अभाव, सामाजिक कलंक र अभिभावकमा जानकारीको कमी, ग्रामीण क्षेत्रमा सेवा पहुँच अत्यन्त सीमित, सामाजिक सुरक्षा र सेवा प्रणाली अपूर्ण हुनु प्रमुख चुनौतीको रुपमा रहेको समान भविष्य फाउण्डेशनका सञ्चालक रञ्जन धमलाले जानकारी दिए ।
सरकारले अपाङ्गता परिचयपत्र, मासिक भत्ता तथा निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गरे पनि सबैसम्म सेवा पुग्न सकेको छैन । अटिजम भएका बालबालिकाको सही वर्गीकरण र पहुँचमा समेत समस्या देखिएको छ ।
सरकारी स्तरमा सेवा सीमित हुँदा निजी तथा गैरसरकारी संस्थामा निर्भरता बढेको जसले खर्च बढाउने र पहुँच सीमित गर्ने समस्या निम्त्याएको छ । निजी स्तरमा खुलेका थेरापी सेन्टरमा नीतिगत कमजोरीका कारण आफुखुशी महंगो शुल्क लिने हुँदा अभिभावकहरु आर्थिक रुपमा समेत कमजोर बन्दै गएको चुडालले बताए ।
स्थानीय तहले बजेट र सेवा केन्द्र स्थापना गर्नुपर्ने, विद्यालयमा समावेशी शिक्षा प्रभावकारी बनाउनुपर्ने, स्वास्थ्य संस्थाले प्रारम्भिक स्क्रिनिङ र थेरापी सेवा विस्तार गर्नुपर्ने, अभिभावक समूह र समुदायमा सचेतना बढाउनुपर्नेमा उनीहरुले जोड दिए ।
झापाको दमकस्थित सरस्वती मावि र बिर्तामोडको महेन्द्ररत्न अटिजम भएका बालबालिकाका लागि कक्षा सुरु भए पनि प्रत्येक पालिकामा अटिजम भएका बालबालिको संख्या उच्च रहेकाले सबै स्थानिय तहले विद्यालय सुरु गर्नु पर्नेमा उनीहरुको माग छ । श्रोत केन्द्रले पनि अटिजममा गहिरिएर त्यसमा श्रोत कक्षाहरु थप्न पहल गर्न आवश्यक रहेको चुँडालको भनाई छ ।
निजी क्षेत्रबाट अटिजम भएका बालबालिकाका अभिभावकहरुले स्थापना गरेको नाफा वितरण नगर्ने समान भविष्य फाउण्डेशनले समान भविष्य पुर्व प्राथमिक विद्यालय बिर्तामोड ४ मा सञ्चालन गरिरहेको र हाल १२ जना विद्यार्थी अध्ययनरत रहेको सञ्चालक पुष्प खड्काले जानकारी दिए ।


