
इलाम, २२ चैत । सन्दकपुर गाउँपालिका–४ स्थित कालपोखरी क्षेत्रमा यतिबेला स्वदेशी तथा विदेशी पर्यटकको उल्लेख्य चहलपहल देखिएको छ। तेस्रो ‘रेडपाण्डा महोत्सव’ सुरु भएसँगै नेपाल–भारत सीमावर्ती यस क्षेत्र पर्यटकको नयाँ केन्द्र बन्दै गएको हो।
दुर्लभ वन्यजन्तु रेडपाण्डालाई नजिकबाट अवलोकन गर्ने चाहनाले तराईदेखि पहाड हुँदै पर्यटकहरू कालपोखरीसम्म पुगेका छन्। रेडपाण्डा प्रत्यक्ष हेर्ने अवसरसँगै यहाँको प्राकृतिक सौन्दर्यले पनि आगन्तुकलाई आकर्षित गरिरहेको छ।
महोत्सवको उद्घाटन गर्दै कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले नेपालमा करिब ५ सयको हाराहारीमा मात्र रेडपाण्डा रहेको उल्लेख गर्दै यसको संरक्षणमा सबैको साझा प्रयास आवश्यक रहेको बताए। उनले यस्ता कार्यक्रमले पर्यटन प्रवर्द्धनसँगै संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
महोत्सव सुरु भएपछि स्थानीय होटल तथा होमस्टेहरूमा पाहुनाको चाप बढेको छ। स्थानीय व्यवसायीहरू यसलाई आर्थिक अवसरको रूपमा लिँदै उत्साहित देखिन्छन्। निरन्तरता दिन सके सन्दकपुर क्षेत्रको आर्थिक अवस्था सुधारिने अपेक्षा गरिएको छ।
कार्यक्रममा मगर, राई र शेर्पा समुदायका सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिँदा पर्यटकहरूले स्थानीय कला, संस्कृति र परम्पराको समेत अनुभव लिन पाएका छन्। यसले पर्यटनलाई थप विविध र आकर्षक बनाएको आयोजकहरूको भनाइ छ।
जैविक विविधताले भरिपूर्ण कालपोखरी–सन्दकपुर क्षेत्र रेडपाण्डासँगै अन्य दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी र वनस्पतिको बासस्थानका रूपमा परिचित छ। चिसो हावापानी र बाक्लो जंगल रेडपाण्डाका लागि उपयुक्त मानिन्छ।
नेपालका विभिन्न स्थानसँगै भारतका दार्जिलिङ, सिक्किम र पश्चिम बंगालबाट समेत पर्यटकहरूको आगमन बढ्दै गएको छ। रेडपाण्डा अवलोकनसँगै हिमाली दृश्यावलोकनको अनुभवले आगन्तुकलाई थप आकर्षित गरेको छ।
महोत्सवमार्फत संरक्षण र पर्यटनलाई सँगै अघि बढाउने प्रयासले सन्दकपुर क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको ‘इको–टुरिजम’ गन्तव्यको रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।


