
झापा, १३ साउन । झापा, सुनसरी, तेह्रथुम र धनकुटाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार साउन १२ गते झापाको झापा गाउँपालिका–३ बाट प्रहरी चौकी टाघनडुब्बा र लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाको संयुक्त टोलीले भारतको किशनगञ्ज निवासी एमडी फारुकलाई ५० ग्राम ५० मिलिग्राम ब्राउन सुगर र BR 37AB 5859 नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो।
त्यसैगरी, सुनसरीको धरान–१५ बाट इलाका प्रहरी कार्यालय धरानले स्थानीय बासु बुढाथोकी र धरान–१० का युकेश मगरलाई इमाडोल र डिकोलिक गरी ४ हजार ६१५ पिस लागूऔषधसहित नियन्त्रणमा लिएको छ।
तेह्रथुममा प्रहरी चौकी जिरीखिम्तीको टोलीले सुनसरीको इनरुवा–२ घर भई हाल म्याङलुङ नगरपालिका–७ मा बस्दै आएका सहनिवाज अलीलाई ट्रामाडोल र डाइक्लोपाम गरी १०० ट्याब्लेटसहित पक्राउ गरेको छ।
यस्तै, धनकुटाको शहीदभूमि गाउँपालिका–६ बाट प्रहरी चौकी आँखीसल्लाले स्थानीय रबिन राईलाई उनकै घरबाट ट्रामोल ७५० क्याप्सुल र डाइक्लोमाइन ८३० ट्याब्लेट बरामद गरेपछि पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका सबैमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।


