
भद्रपुर, १३ साउन । नेपाल जेसीजको ५३ औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन आगामी पूस ८ देखि १० गतेसम्म झापाको भद्रपुरमा आयोजना हुने भएको छ ।
भद्रपुर जेसीजको आतिथ्यमा हुन लागेको महाधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने तयारी तीव्र पारिएको आज भद्रपुरस्थित प्रेस क्लबको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जनाएको हो ।
आयोजकका अनुसार, देशभरका करिब २०० शाखाबाट प्रति शाखा सात प्रतिनिधि र पाँच पर्यवेक्षकका दरले गरी करिब ३ हजार २०० जनाको सहभागिता रहने छ । तीमध्ये करिब १ हजार ९ सय जनाका लागि आवास सहितको व्यवस्था गरिएको छ । पूर्वराष्ट्रिय अध्यक्ष, पूर्वशाखा अध्यक्ष तथा वर्तमान राष्ट्रिय कार्यसमितिका पदाधिकारीहरू पनि पर्यवेक्षकका रूपमा सहभागी हुनेछन् ।
महाधिवेशनको मुख्य समारोह भद्रपुरस्थित मेची रङ्गशालामा हुनेछ । सहभागीको सुविधाका लागि भद्रपुरका साथै बिर्तामोड, धुलाबारी र काँकडभिट्टाका होटल तथा लजहरूमा आवास व्यवस्थापन गरिएको आयोजकले जनाएको छ ।
महाधिवेशनमा साधारणसभा, नयाँ नेतृत्व चयनका लागि निर्वाचन, आगामी वर्षको कार्ययोजना प्रस्तुति, आय–व्यय प्रतिवेदनमाथि छलफल तथा बजेट अनुमोदन गरिनेछ ।
साथै, नेपाल जेसीज र अन्तर्राष्ट्रिय जेसीजबाट मान्यताप्राप्त प्रशिक्षकद्वारा व्यक्तित्व विकास, नेतृत्व तथा अन्य समसामयिक विषयमा विशेष तालिम सञ्चालन गरिने कार्यक्रम रहेको छ ।
यसका अतिरिक्त ‘3A (Act, Aim, Achievements’ विषयमा कार्यपत्र प्रस्तुति, प्रतिष्ठित व्यक्तित्वबाट टिप्पणी तथा सुझाव, मनोरञ्जनात्मक कार्यक्रम र क्षेत्रीय बैठकहरू पनि आयोजना गरिनेछन् ।
महाधिवेशनको व्यवस्थापनका लागि १९ सदस्यीय स्टेयरिङ कमिटी गठन गरी विभिन्न उपसमितिमार्फत तयारीलाई अन्तिम चरणमा पु¥याइने आयोजकले जनाएको छ । सहभागीका लागि पार्लर, स्तनपान कक्ष, स्टल, चिया–खाजा, भोजन तथा स्मारिका किट ब्यागको समेत व्यवस्था गरिनेछ ।
महाधिवेशन सम्पन्न गर्न करिब रु. २ करोड खर्च लाग्ने अनुमान गरिएको छ । खर्च व्यवस्थापनका लागि दर्ता शुल्क, विज्ञापन तथा उद्योगी, व्यवसायी, स्थानीय तह र विभिन्न संघ–संस्थाबाट सहयोग जुटाउने लक्ष्य लिइएको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले भद्रपुरमा हुन गइरहेको जेसीजको ५३ औं राष्ट्रिय महाधिवेशनलाई सफल पार्न भद्रपुरबासी सबैले सहयोग गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले जेसीजको राष्ट्रिय महाधिवेशनले भद्रपुरको पहिचानलाई अझ फराकिलो पार्न सहयोग गर्ने बताउनु हुँदै महाधिवेशन सफल पार्न नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
त्यस्तै, भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले भद्रपुरमा जेसीजको राष्ट्रिय महाधिवेशन हुनु सुखद पक्ष भएको बताउनुभयो । उहाँले अधिवेशनका लागि सुझाव समेत दिनुभएको थियो ।
पत्रकार सम्मेलनमा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष योगेश राजवंशीले अधिवेशनका विविध पक्षका विषयमा जानकारी दिनुभएको थियो ।
पत्रकार सम्मेलनमा नेपाल जेसीजको ५३ औं राष्ट्रिय महाधिवेशनका महाधिवेशन–निर्देशक जेसी बसन्त पोखरेलले महाधिवेशनको तयारीका बारेमा प्रकाश पार्नुभएको थियो भने महाधिवेशन प्रचार–प्रसार समिति संयोजक अभिषेक ढुङ्गानाले पत्रकार सम्मेलनको सहजीकरण गर्नुभएको थियो ।
भद्रपुर जेसीजका महासचिव सुरेश श्रेष्ठले जेसीज आस्था वाचन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि गणेश पोख्रेल, ओम साई पाथीभरा हस्पिटलका अध्यक्ष एवं समाजसेवी दीपक पोखरेल, भद्रपुर जेसीजका सन् २०२६ का अध्यक्ष सुरेन्द्रबहादुर खड्का (हिमाल) लगायतले ५३ महाधिवेशनको लोगो सार्वजनिक गर्नुभएको थियो ।
सोही कार्यक्रममा समाजसेवी दीपक पोखरेलले प्रेस क्लब–भद्रपुरलाई दुई टनको दुईवटा एसी प्रदान गर्ने घोषणा समेत गर्नुभएको छ ।


