
मदुरै, २४ चैत (एजेन्सी) । तमिलनाडुको सथानकुलममा बाबु–छोराको हिरासतमा भएको हत्याको मामिलामा मदुरैको एक स्थानीय अदालतले ठुलो फैसला सुनाएको छ।
मदुरैका प्रथम अतिरिक्त जिल्ला तथा सत्र न्यायाधीश जी मुथुकुमारनले नौ प्रहरीलाई मृत्युदण्डको सजाय सुनाएका छन् । उनीहरूलाई सन् २०२० मा थुथुकुडीको सथानकुलममा दुई व्यापारी पी जयराज र उनका छोरा बेनिक्सलाई प्रहरी हिरासतमा यातना दिएर हत्या गरेकोमा दोषी ठहर गरिएको थियो ।
दोषी ठहर भएका नौ प्रहरीमा तत्कालीन प्रहरी निरीक्षक एस श्रीधर, उप–निरीक्षक पी रघु गणेश र के बालकृष्णन, हवल्दार एस मुरुगन र ए सामीदुरई तथा सिपाहीहरू एम मुथुराजा, एस वेल मुथु, एस चेल्लादुरई र एक्स थोमस फ्रान्सिस रहेका छन् ।
के थियो घटना ?
अभियोजन पक्षका अनुसार १९ जुन २०२० मा जयराज आफ्नो छोराको मोबाइल पसलमा हुँदा आरोपी प्रहरीहरूले उनलाई कोरोना महामारीको निषेधाज्ञाको समयपछि पनि पसल खोलेको आरोपमा प्रहरी चौकी लगेका थिए । जब बेनिक्स चौकीमा गएर आफ्ना बुबालाई रिहा गर्न अनुरोध गरे, आरोपी प्रहरीहरूले बेनिक्सकै अगाडि जयराजसँग दुर्व्यवहार गरे, जसका कारण बेनिक्स र प्रहरीहरूबिच विवाद भयो । यस घटनापछि प्रहरीले बाबु–छोरालाई रातभर चौकीमा राखेर निर्दयतापूर्वक यातना दिएको थियो ।
त्यसपछि सथानकुलमका न्यायिक दण्डाधिकारीले उनीहरूलाई न्यायिक हिरासतमा पठाउने आदेश दिए र भोलिपल्ट उचित उपचारविना नै कोविलपट्टी उपकारागारमा राखियो । चाँडै नै उनीहरूको स्वास्थ्य अवस्था बिग्रियो । बेनिक्सको मृत्यु २२ जुन २०२० मा सरकारी कोविलपट्टी अस्पतालमा भयो भने जयराजको निधन त्यसको एक दिनपछि भयो । उनीहरूको मृत्युको सम्बन्धमा कोविलपट्टी पूर्व प्रहरी चौकीमा दुईवटा जाहेरी दर्ता गरिएका थिए ।
एक प्रहरीको भने कोभिडको कारण मृत्यु
यो मुद्दा केही समयका लागि प्रदेशको विशेष अपराध अनुसन्धान शाखालाई सुम्पिइएको थियो, जसपछि केन्द्रीय अनुसन्धान ब्यूरो ९सीबीआई० ले आफ्नो हातमा लिएको थियो । आरोपीमध्ये एक प्रहरी सहायक उप–निरीक्षक पाउलदुरईको अगस्त २०२० मा कोरोनाका कारण मृत्यु भएको थियो । सीबीआईले २५ सेप्टेम्बर २०२० मा बाँकी नौ प्रहरीहरूविरुद्ध आरोपपत्र दायर गर्यो र १० मार्च २०२१ मा यस मुद्दाको सुनुवाइ मदुरैको पहिलो अतिरिक्त जिल्ला तथा सत्र अदालतमा तय गरिएको थियो ।
सुनुवाइ चलिरहेका बेला, सीबीआईले अगस्त २०२२ मा एक पूरक आरोपपत्र दायर गर्यो । दुवै आरोपपत्रले मृतकहरूले तोकिएको समयभन्दा बढी पसल नखोलेको र उनीहरूलाई झूटो मुद्दामा फसाइएको देखाएको थियो । घटनाकी एक महिला हवल्दार साक्षीको बयान अनुसार रातभरि यातना दिनुका साथै मृतकहरूलाई उनीहरूकै घाउबाट निस्किएको रगतले भिजेको आफ्नै गन्जीले चौकीको भुइँ सफा गर्न लगाइएको थियो ।
चार वर्षभन्दा लामो चल्यो सुनुवाइ
शव परीक्षण प्रतिवेदनले बेनिक्सको शरीरमा १३ र जयराजको शरीरमा १७ वटा बाहिरी चोटहरू रहेको देखाएको थियो । प्रतिवेदनमा भनिएको छ– लगभग सबै चोटहरू कुन्द वस्तुले लागेको थियो र त्यसैबाट उत्पन्न जटिलताका कारण उनीहरूको मृत्यु भएको थियो ।
चार वर्षभन्दा लामो सुनुवाइपछि २३ मार्चमा अदालतले नौ प्रहरीलाई दोषी ठहर गर्यो । सजायमाथिको बहसका क्रममा सीबीआईका विशेष सरकारी वकिलले यो मुद्दाले समाजलाई नै स्तब्ध बनाएको र यो दुर्लभभन्दा दुर्लभ श्रेणीमा पर्ने तर्क गरेका थिए । यसका लागि मृत्युदण्ड वा कम्तीमा मृत्युपर्यन्त आजीवन कारावासको सजाय हुनुपर्ने माग गरिएको थियो । एजेन्सी


