
राजेश ढुंगाना
सम्बन्धित सबैमा अनुरोध गर्दछु– मैले आजकै मितिबाट नेपाली कांग्रेस परित्याग गरेको छु । असन्तुष्ट भएर बसिरहनुभन्दा सन्तुष्ट भएर बाहिरै बस्नु उचित देखें । म आफ्नो पार्टीसँग २०५० सालदेखि (जब भ्रष्टाचार र अनियमितता शुरु भयो) नै असन्तुष्ट रहँदै आएको हुँ । जसको परिणाम यी ३२ वर्षका मेरा राजनीतिक लेखहरू साक्षी छन् ।
पार्टी र यसको नेतृत्व सुध्रने आशामा यो साढे तीन दशक मैले अनाहक गुमाएको छु । अब टुङ्गो भइसकेको छ– कम्तीमा पनि मेरो हिजोसम्मको यो पार्टी नसुध्रने अन्तिम हदमा पुगिसकेको छ । नेताहरू मात्र होइन, कार्यकर्ताहरू समेत नै पनि उन्मुक्त नहुने भ्रष्टीकरणको जालोमा फसिसकेका छन् । एउटा ऐतिहासिक पार्टीको यो दुर्दान्त अवसान आफैंमा कहालिलाग्दो पनि छ ।
२०३२–’३३ सालमा जनकपुर ब्रह्मपुरीको मामाघरमा मामाहरू प्रेमनाथ, रिमनाथ र खगेन्द्र अधिकारीको प्रभावमा म कांग्रेस भएको हुँ । ’३४ सालदेखि बिराटनगरको आदर्श विद्यालयबाट १ वर्ष सक्रिय रहँदा म साथीहरू श्रीहरि रेग्मी, शिरिष पोखरेल आदिलाई सम्झन्छु । त्यसपछि ’३५–’३६ सालको ऐतिहासिक विद्यार्थी आन्दोलनमा सक्रिय रहँदासाथी पुष्प सिटौलाले मरणासन्न हुनेगरी प्रहरीले कुटेको पनि सम्झन्छु ।
माथिका कुरा म किन उल्लेख गरिरहेको छु भने, आफूले लगभग ५ दशक कुनै न कुनै रुपमा काम गरेको पार्टी छाड्दा पुराना कुराहरूको स्मृति ताजा हुँदोरहेछ ।
२०३६–’३७ सालको जनमत संग्रहमा नेताहरू सीके प्रसाईं (भरतबाबु), भूबिक्रम नेम्बाङ, रामबाबु प्रसाईंको प्रत्यक्ष निर्देशनमा काम गर्दै पार्टीमा इमान्दारीपूर्वक सक्रिय रहें । त्यसैबेला विशेषगरी नेविसंघ मार्फत सक्रिय भएर झापा जिल्लाको राजनीतिक केन्द्र रहेको मेची क्याम्पसको स्ववियु सभापतिमा पार्टीले जिम्मेवारी दियो । र, अपवाद बाहेक कुनै पदको आकांक्षा नराखेर आदर्शमा समर्पित हुँदा २०३८ सालको निर्वाचन पश्चात् जिल्लाव्यापी रूपमा नेविसङ्घको गठन विस्तारमा सक्रिय रहें ।
त्यसै क्रममा २०३७ सालमा २ पटकसम्म जननायक बीपी कोइरालासँग भेट्ने अहोभाग्य पनि जु¥यो । हुनसक्छ– बीपीलाई भेट्ने अन्तिम पुस्ताको मानिस हुँ म । त्यो भेटमा बीपीले काँधमा थप्थपाएर ‘तिमी तेज छौ, तिम्रो भविष्य उज्ज्वल छ’ भन्नु भएको कुरा पनि यतिबेला म झल्झली सम्झिरहेको छु । भरतबाबु (सीके) प्रसार्इंको त्यो ‘सुशील विश्व निकेतन’ पनि सम्झिरहेछु र विगतमा मैले केही समय नेता गिरिजाप्रसाद कोइरालाको सानिध्य पनि पाएँ ।
त्यसपछि २०४२ सालको सत्याग्रहमा फिल्ड र केन्द्रीय सञ्चार मोर्चाको समन्वयमा बुलेटिन प्रकाशन गर्न पनि सक्रिय भएर काम गरें । त्यसैगरी, २०४६ सालको जनआन्दोलनमा काठमाडौं मोर्चाबाट सक्रिय रहेको हुँ । पछि, झापा आएर सीके प्रसाईं (भरतबाबु) र भूबिक्रम नेम्बाङको प्रत्यक्ष निर्देशनमा इण्डियाको नक्सलबारीमा बसेर ‘जनआन्दोलन बुलेटिन’ निकालें । जसमा हालका सांसद गोपाल बस्नेतको पनि सहयोग थियो ।
नेपाल प्रेस युनियनको संस्थापक रहेर त्यसपछि पनि विचार, आदर्श र सिद्धान्त मुटुमा बोकेर आफ्नो बर्कत र बुताले भ्याएसम्म अहिलेसम्म सक्रिय रहँदै आएको हुँ । तर, अब मेरो पार्टीले नेपालको वर्तमान र भविष्य बोक्ने ल्याकत नराख्ने कुराको टुङ्गो भएपछि पनि यसै पार्टीमा बसिरहनु अनुचित लागेर कांग्रेस परित्याग गरेको छु । अबका दिनहरूमा म एउटा स्वतन्त्र र उदार प्रजातन्त्रवादी नागरिक रहने निर्णय गरेको छु ।
आफूलाई कांग्रेस बन्न प्रेरित गर्ने, सँगै हिंडेका साथीहरू र आफैंले बनाएका कांग्रेस साथीहरूसँग म माफी समेत माग्दछु ।
चैत २८, २०८२
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


