
झापा, ३ बैशाख । सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पुर्याउने लक्ष्यसहित सरकारले अघि सारेको योजनाअनुरूप राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) अब घरमा पुर्याउन थालिएको छ ।
यस्ता सेवा लिनका लागि सदरमुकाम वा सम्बन्धित कार्यालयसम्मको लामो यात्रा गर्नुपर्ने, घण्टौँ लाइन बस्नुपर्ने, बिचौलियाको भर पर्नुपर्ने र पटक–पटक धाउनुपर्ने अवस्थाको अन्त्य गर्न अब राज्य आफैँ नागरिकको ढोकासम्म पुग्न थालेको हो ।
हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराईका अनुसार मकवानपुर, म्याग्दी, डडेलधुरालगायत जिल्लामा परीक्षण स्वरूप यो सेवा प्रारम्भ भइसकेको छ । सङ्खुवासभा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) लगायत जिल्लामा अन्तिम तयारी भइरहेको छ भने सबैजसो जिल्ला हुलाकले कसरी सेवा दिने भनेर आ–आफ्नो योजना बनाइरहेका छन् ।
यो कार्यक्रमलाई कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्री डा विक्रम तिमिल्सिना सक्रियतापूर्वक लागिरहनुभएको छ । सबै निकायबीचको समन्वय तथा सहकार्यमा कार्ययोजना बनाइ लागु गर्न र कार्यान्वयनका क्रममा देखिनसक्ने सम्भावित जटिलताबारे तत्काल मन्त्रालयलाई जानकारी गराउन विभागलाई निर्देशन दिनुभएको छ ।
सरकारले गत चैत १३ गते सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्सलगायत सरकारी कागजातहरू घरमै पु¥याउने व्यवस्था १०० दिनभित्र लागू गर्ने घोषणा गरेको थियो ।


