
झापा, १० बैशाख । झापा, मोरङ, सुनसरी र उदयपुरबाट लागूऔषध ब्राउनसुगरसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बैशाख ९ गते झापाको अर्जुनधारा नगरपालिका-११ स्थितबाट लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सोहि स्थानका २५ बर्षीय संजोग राई, २५ बर्षीय रुपेश दर्जी र ३७ बर्षीय अमृत दर्जीलाई २७ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर र बा. ४० प ३९९४ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ ।
त्यस्तै, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका(३ बाट इलाका प्रहरी कार्यालय लौकही र लागु औषध नियन्त्रण व्यूरो विराटनगरले इनरुवा–२ का सैफ अली सिदिकीलाई २० ग्राम ब्राउन सुगरसहित र कोशी गाउँपालिका–१ बाट बराहक्षेत्र नगरपालिका–६ का हरिबहादुर श्रेष्ठलाई ५३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
त्यसैगरी, मोरङको विराटनगर–१६ बाट इलाका प्रहरी कार्यालय रानी, रानी (सीमा) र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले सुन्दरहरैचा–५ का समिर चौधरीलाई २१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने प्रहरी चौकी भागलपुर उदयपुरले बेलका–१ बाट स १० प ७८०१ नम्बरको मोटरसाइकल चालक चौदण्डीगढी नगरपालिका–७ का आर्जु राई र मोटरसाइकल पछाडी सवार श्याम कुमार कार्कीलाई १५५ मिलिग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भइरहेको छ ।



