
निशान निरौला
इलाम, १० बैशाख । जिल्ला प्रहरी कार्यालय इलामले शान्ति सुरक्षा कायम राख्न तथा बढ्दो ध्वनी प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले वैशाख ९ गतेदेखि विशेष अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत मोडिफाइ गरिएको मोटरसाइकल प्रयोग गरी बजार क्षेत्रमा चर्को आवाज निकाल्ने तथा तीव्र गतिमा सवारी चलाउनेहरूलाई लक्षित गर्दै कारबाही सुरु गरिएको हो ।
प्रहरीका अनुसार पहिलो चरणमै ८ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ। पछिल्लो समय इलाम बजार तथा आसपासका क्षेत्रमा केही युवाहरूले साइलेंसर लगायतका पार्टपुर्जामा परिवर्तन गरी अनावश्यक रूपमा ठूलो आवाज निकाल्ने, रातिको समयमा अनियन्त्रित रूपमा सवारी कुदाउने तथा ट्राफिक नियम उल्लङ्घन गर्ने गतिविधि बढ्दै गएको गुनासो आएपछि विशेष निगरानीसहित अभियान अघि बढाइएको हो ।
यस क्रममा प्रहरीले रातिको समयमा विशेष चेकिङ सञ्चालन गर्दै सर्वसाधारणको शान्ति भंग गर्ने, वातावरणमा नकारात्मक असर पार्ने तथा दुर्घटनाको जोखिम बढाउने सवारी साधनहरू नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा लिइएका सवारी साधनमाथि आवश्यक अनुसन्धान गरी प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामले सम्पूर्ण सवारी चालकलाई ट्राफिक नियमको पालना गर्न, सवारी साधनलाई मापदण्डअनुसार मात्र सञ्चालन गर्न तथा ध्वनी प्रदूषण नगर्न आग्रह गर्दै सुरक्षित र अनुशासित यातायात प्रणाली निर्माणमा सहयोग गर्न अपिल गरेको छ ।



