
झापा, १० बैशाख । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले झापामा सबैभन्दा बढी अनुदानका लागि अर्जुनधारा नगरपालिकालाई सिफारिस गरेको छ ।
आयोगले आर्थिक वर्ष २०८३–८४ का लागि प्रदेश सरकारले स्थानीय विभाज्य कोषबाट बाँडफाँट गर्ने सवारी साधन कर सम्बन्धी सिफारिस अनुसार कोशी प्रदेशभित्र झापामै सबैभन्दा बढी अनुदानका लागि अर्जुनधारा नगरपालिकालाई सिफारिस गरेको हो ।
आयोगद्वारा प्रयोग गरिएका मुख्य सूचकहरूमा जनसंख्या तथा जनसांख्यिक विवरण ५० प्रतिशत, क्षेत्रफल १० प्रतिशत, मानव विकास सूचकाङ्क ५ प्रतिशत, पूर्वाधार विकासको अवस्था २५ प्रतिशत र वन क्षेत्र १० प्रतिशत समावेश छन् । यी सूचकहरूको समग्र मूल्याङ्कनका आधारमा झापा जिल्लाका पालिकाहरूमध्ये अर्जुनधारालाई सबैभन्दा बढी अनुदानका लागि सिफारिस गरेको छ ।
अर्जुनधारा नगरपालिकाले झापा जिल्लामै उच्चतम अंक प्राप्त गरेको छ । जनसंख्या तथा भूगोलका हिसाबले अग्रस्थानमा नरहे पनि पूर्वाधार विकासका क्षेत्रमा गरिएको उल्लेख्य प्रगति सडक, खानेपानी, विद्युत तथा सूचना प्रविधिमा पहुँच विस्तार नै यस उपलब्धिको प्रमुख आधार बनेको पालिकाले जनाएको छ ।

नगरवासी, जनप्रतिनिधि तथा कर्मचारीहरूको साझा प्रयासबाट यो उपलब्धि प्राप्त भएको नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले जानकारी दिनुभयो । आगामी दिनमा पनि दिगो समावेशी र गुणस्तरीय विकासतर्फ अर्जुनधारा नगरपालिका अझ दृढतापूर्वक अघि बढ्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।




