
झापा, १२ साउन । झापाको मेचीनगर–६ स्थित अरुणोदय माध्यमिक विद्यालयको आवासीय कोठाभित्र एक महिला मृत अवस्थामा फेला परेकी छन् । घटनापछि उनका श्रीमान फरार रहेका छन् ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार वीरगञ्ज महानगरपालिका–१६ निवासी ३० वर्षीय रतन गुप्ता र उनकी श्रीमती सर्लाहीको लालबन्दी नगरपालिका–२ निवासी २९ वर्षीया कविता कुमारी ढुङ्गाना गत वैशाखदेखि विद्यालय परिसरको एक कोठामा बस्दै आएका थिए। दुवै जना सोही विद्यालयमा अध्यापन कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
साउन ५ गतेदेखि विद्यालय बिदा भएपछि साउन ११ गते विद्यालय सञ्चालन हुँदा दुवै जना विद्यालयमा उपस्थित नभएको र उनीहरूको कोठामा बाहिरबाट ताल्चा लागेको अवस्थामा फेला परेको थियो। दुवै जनासँग फोन सम्पर्क हुन नसकेपछि सोही दिन अपराह्न विद्यालयका प्रिन्सिपललाई रतन गुप्ताले सन्देश पठाउँदै श्रीमतीलाई भान्सा कोठामा झुण्डिएको अवस्थामा फेला पारेको, पासो काटेर सुत्ने कोठामा ल्याउँदा मृत्यु भइसकेको देखेपछि डरले शव छाडेर भागेको उल्लेख गरेका थिए ।
जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक जसबहादुर लिम्बुको नेतृत्वमा खटिएको टोलीले स्थानीय जनप्रतिनिधिको रोहबरमा कोठाको ताला फोडी हेर्दा महिलाको शव खाटमा उत्तानो परेको तथा दुर्गन्धित अवस्थामा फेला पारेको थियो ।
प्रहरीले मृतकका आफन्तलाई जानकारी गराई कानुनी प्रक्रिया पूरा गरेपछि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ । प्रहरीका अनुसार मृतकका आफन्त झापामा आइपुगेका छन् भने फरार रहेका श्रीमान रतन गुप्ताको खोजी कार्य तीव्र रूपमा अघि बढाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


