
झापा, ११ बैशाख । झापामा सार्वजनिक सवारी चालक तथा सहचालकहरूको लागुपदार्थ सेवन, मादक पदार्थ सेवन परीक्षण, स्वास्थ्य परीक्षण तथा सवारी यान्त्रिक चेकजाँच कार्यक्रम गरिएको छ ।
दमक नगरपालिका–४ ताराबारीमा दमक नगरपालिका र दमक अस्पतालको सहकार्यमा इलाका प्रहरी कार्यालय दमक, जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड एवम् ट्राफिक कार्यालय दमकको संयुक्त आयोजनामा उक्त कार्य गरिएको हो ।
कार्यक्रममा ५४ जना चालक तथा सहचालकको परीक्षण गरिएको थियो । जसमध्ये ३ जना चालक तथा २ जना सहचालकले लागुपदार्थ सेवन गरेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो । परीक्षणका क्रममा २ जनाले मादक पदार्थ सेवन गरेको समेत फेला परेको छ ।
पोजेटिभ देखिएका चालक तथा सहचालकलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा पठाइएको छ ।



