
कतार, ११ बैशाख । झापाली समाज कतारद्वारा प्रकाशित २०८३ सालको भित्तेपात्रो सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र चौलागाईंको प्रमुख आतिथ्यमा समाजले आज बैशाख ११ गते भित्तेपात्रो सार्वजनिक गरेको हो ।
कार्यक्रममा झापाली समाज कतारका पदाधिकारी तथा अन्तर्राष्ट्रिय झापाली समाजका पदाधिकारी हरूबीच भेटघाटसँगै विचार आदानप्रदान गरियो । भित्तेपात्रोमा नेपाली चाडपर्व, महत्वपूर्ण तिथिमिति तथा झापाली समुदायसँग सम्बन्धित विविध जानकारी समेटिएको छ ।

भित्तेपात्रोको अनावरण गर्दै वक्ताहरूले यसले नेपाली कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । विदेशमा रहेर पनि नेपाली पहिचान जोगाइ राख्न यस्ता पहलहरू अत्यन्त आवश्यक रहेको उनीहरूको भनाइ थियो ।
महासचिव बिमल भारतीले पात्रो प्रकाशनको उद्देश्यबारे प्रकाश पार्दै यस कार्यमा सहयोग गर्ने सम्पूर्ण संघसंस्था तथा व्यक्तिहरूप्रति धन्यवाद व्यक्त गरेका छन् । साथै, उक्त पात्रो नेपालका विभिन्न स्थानमा निःशुल्क वितरण भइरहेको जानकारी पनि गराए ।
कार्यवाहक अध्यक्ष गणेश प्रसाद दुलालले सहयोगी, प्रायोजक तथा सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा यस्ता सामाजिक तथा रचनात्मक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष तथा झापाली समाज कतारका प्रमुख संरक्षक चुडामणि कार्कीले सन् २००४ मा स्थापना भएदेखि हालसम्मका गतिविधिहरूको स्मरण गर्दै आगामी दिनहरूमा पनि समाजप्रति आफ्नो निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यस्तै, उपाध्यक्ष नवीन पोखरेलले समाजका आगामी सामाजिक कार्यहरूमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै अन्तर्राष्ट्रिय झापाली समाजले सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।
अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र चौलागाईंले समाजले गरेका कार्यहरूको प्रशंसा गर्दै आगामी दिनमा व्यक्तिगत तथा संस्थागत रूपमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नवीन पोखरेल, उपाध्यक्ष चुडामणि कार्की, सचिव भवानीप्रसाद कोइराला तथा मध्यपूर्व संयोजक केशव कार्की, कार्यसमिति सदस्य अर्पण बिक्रम खड्का लगायतको उपस्थिति रहेको थियो ।
झापाली समाज कतारका संरक्षक राजन कार्की, सल्लाहकार तिलक सिलवाल, उपाध्यक्ष किरण परियार, सचिव कृष्ण कार्की लगायत समाजका पदाधिकारी, सदस्यहरू तथा कतारमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण अन्तर्राष्ट्रिय झापाली समाजका सचिव साथै झापाली समाज कतारका संरक्षक भवानीप्रसाद कोइरालाले गर्नुभएको थियो ।



