
अर्जुनधारा, २९ वैशाख । झापाको अर्जुनधारा नगरपालिका वडा नं ४ का पशुपालक किसानलाई गाई वस्तुमा लाग्ने खोरेत रोगको प्रभाव सम्बन्धी एक दिने तालिम दिइएको छ ।
अर्जुनधारा नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाको आयोजना र चाँदनी बहुउद्देश्य सहकारी संस्था अर्जुनधारा-४ को व्यवस्थापन सहयोगमा यहाँका पशुपालक कृषकहरूलाई आज एक दिने उक्त तालिम दिइएको हो ।

अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कृषकहरूलाई बिर्तामोड नगरपालिकाका पशुपंक्षी तथा मत्स्य विकास शाखाका पशु चिकित्सक नगेन्द्र खड्का र अर्जुनधारा नगरपालिकाका पशुपंक्षी तथा मत्स्य विकास शाखाका प्रमुख पदम राईले तालिम दिनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रमुख पराजुलीले पहिला-पहिला खोरेत रोगबारे जानकारी नहुँदा किसानहरुले झिँगा लाग्दैन भनेर पशुहरूलाई हिलो र पानी तिर लगेर बाँध्ने गरेको बताउनुभयो । ‘अज्ञानताका कारण पशुहरूलाई हिलोमा राखेर बाँध्दा झन् सङ्क्रमण बढेर जाने रहेछ’, उहाँले भन्नुभयो, ‘तालिमले किसानहरूलाई सजग र सचेत बनाएको छ ।’
खोरेत संक्रमण बढेका बेला नगरपालिकाले त्यसको रोकथामका लागि विभिन्न कार्यक्रम गरेको स्मरण गर्नुहुँदै उपप्रमुख पराजुलीले किसानलाई थप सजग र जानकार बनाउन तालिमको आयोजना गरिएको उल्लेख गर्नुभयो ।
‘बजेट नहुँदा पनि अन्य शीर्षक बाट बजेट काटेर भएपनि खोरेत रोकथामका लागि विभिन्न कार्यक्रम गर्यौं’, उहाँले भन्नुभयो, ‘नगरपालिकाले बजेटको पर्याप्तताका आधारमा किसान र कृषि क्षेत्रको प्रवर्धनमा विभिन्न कार्यक्रम गर्दै आएको छ । आगामी दिनमा पनि किसान मैत्री कार्यक्रमहरू निरन्तर गर्दै जानेछौं ।’
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



