
बिर्तामोड, १ जेठ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ झापाको बिर्तामोडमा ’दोस्रो मेयर कप २०८३ अन्तर वडा कराँते तथा किक बक्सिङ प्रतियोगिता’ सुरु भएको छ ।
बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडस्थित अतिथि सदनको सभाहलमा आयोजित एक विशेष समारोहका बीच बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईंले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
आज र भोलि अर्थात जेठ १ र २ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा बिर्तामोड नगरपालिकाका १० वटै वडाका प्रतिभावान खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको छ । स्थानीय स्तरमा रहेका खेलाडीहरूको पहिचान गरी उनीहरूलाई राष्ट्रिय स्तरसम्म पुर्याउने र खेलकुदको माध्यमबाट नगरलाई चिनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि नगर प्रमुख प्रसाईंले खेलकुदले मानिसलाई अनुशासित बनाउनुका साथै आफ्नो जिम्मेवारी पूरा गर्न प्रेरणा प्रदान गर्ने बताउनुभयो । मार्सल आट्सका विधाहरू कराते र किक बक्सिङले व्यक्तिमा आत्मविश्वास भर्ने चर्चा गर्दै उहाँले खेलमा हार र जितभन्दा पनि अनुशासन र हिम्मत ठूलो कुरा भएको उल्लेख गर्नुभयो । ‘प्रतियोगितामा चुनौतीहरू त अवश्य हुन्छन्, तर हिम्मत नहारी अगाडि बढ्ने हो भने सफलता निश्चित छ’ नगर प्रमुख प्रसाईले भन्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै नगर खेलकुद विकास समितिका सदस्य रमेश उप्रेतीले वडास्तरका प्रतिभाशाली खेलाडीहरूको पहिचान गरी उनीहरूलाई राष्ट्रका लागि उत्कृष्ट खेलाडीको रूपमा उत्पादन गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । कराँते र किक बक्सिङ जस्ता खेलहरू प्रतिरक्षात्मक विधा भएकाले व्यक्तिगत सुरक्षा र स्वस्थ जीवनयापनका लागि यसको ठूलो महत्व रहेको उहाँको भनाइ थियो ।
त्यसैगरी विशिष्ट अतिथि भलिवल संघका केन्द्रिय उपाध्यक्ष मदन खड्काले नगरपालिकाले नगरभित्रका स्थानीय खेलाडीहरूको उन्नयन र वृत्ति विकासका लागि विभिन्न चरणमा फरक–फरक प्रतियोगिताहरू आयोजना गर्दै आएको बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, द्वितीय नगद २५ हजार र तृतीय स्थान हासिल गर्नेले नगद १५ हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेप्रतियोगिताका संयोजक सुदीप खवासले बताउनुभयो ।
उत्कृष्ट खेल प्रदर्शन गर्ने महिला र पुरुषतर्फका एक–एक जना ’बेस्ट फाइटर’लाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । नगर खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन समितिका सचिव विशन लिम्बूले गर्नुभएको थियो ।
करिब ६ लाख रुपैयाँको लागतमा सम्पन्न हुन लागेको प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ । शनिबारसम्म चल्ने यस प्रतियोगिताले बिर्तामोडमा खेलकुदको माहोल थप तताएको छ भने खेलाडीहरूमा नयाँ उत्साह सञ्चार गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



