
बाँके, २ जेठ । बाँकेको राप्ती सोनारी गाउँपालिका–३ स्थित जंगल क्षेत्रमा बाख्रा चराउन गएका पाँच जना महिलामाथि लुटपाट तथा कुटपिट भएको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको जनाएको छ।
शुक्रबार बिहान करिब साढे १० बजेतिर बैशा र नवलपुर गाउँ नजिकको जंगलमा भएको उक्त घटनामा ५५ वर्षीया बिसमति थारु, ५५ वर्षीया श्यामकुमारी थारु, ६५ वर्षीया मंगरी थारु, ५५ वर्षीया रामकलिया थारु र ४५ वर्षीया गौरी थारु घाइते भएका हुन्।
घाइते महिलाहरूका अनुसार नेपाली भाषा बोल्ने मधेसी मूलका ३–४ जनाको समूहले जंगलमा एक्लै रहेको मौका पारेर उनीहरूमाथि आक्रमण गरेको थियो। आक्रमणकारीहरूले महिलाहरूले लगाएका डेढ तोलाभन्दा बढी सुनका गहना लुटपाट गर्नुका साथै निर्घात कुटपिट गरेका थिए।
स्थानीयका अनुसार आक्रमणका क्रममा महिलाहरूका कान र नाकसमेत च्यातिएका छन् भने शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। घाइतेमध्ये बिसमति थारुको दुवै हात र रामकलिया थारुको दायाँ खुट्टा भाँचिएको बताइएको छ।
घटनापछि स्थानीयवासीले घाइतेहरूको उद्धार गरी उपचारका लागि राप्ती सोनारी अस्पताल पुर्याएका थिए। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनीहरूलाई संजिवनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक पातली ले घटनामा संलग्न भएको आरोपमा आठ जनालाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेकाहरूलाई राप्ती सोनारी तथा नरैनापुर आसपासका जंगल क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनापछि सुरक्षाकर्मीसहित ठूलो संख्यामा स्थानीयवासी जंगल क्षेत्रमा परिचालन भएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



