
सरोज भट्टराई
शिवसताक्षी, २ जेठ । लामो समयदेखि शुद्ध खानेपानीको अभाव झेल्दै आएका झिलझिलेबासीले अब स्वच्छ र सुरक्षित खानेपानी उपभोग गर्न पाउने भएका छन्।
झापाको शिवसताक्षी नगरपालिका वडा नं। ११ मा निर्माणाधीन झिलझिले खानेपानी तथा सरसफाइ आयोजनाको अधिकांश भौतिक पूर्वाधार निर्माण सम्पन्न भएसँगै खानेपानी वितरणको तयारी तीव्र पारिएको हो।
वि।सं। २०७५ सालमा स्थापना गरिएको झिलझिले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले झिलझिले बजार तथा वडा नं। ११ को राजमार्ग उत्तर क्षेत्रका नागरिकलाई लक्षित गर्दै आयोजना सञ्चालनमा ल्याएको हो। स्थानीयवासीको सक्रिय सहयोग र जग्गा दानपछि आयोजना अघि बढाइएको समितिले जनाएको छ।

परियोजनाका लागि स्थानीय गंगाधर तिम्सिनाले २ कठ्ठा तथा लीला तिम्सिना, विनोद तिम्सिना, स्वर्गीय हरिभक्त तिम्सिना, लक्ष्मीप्रसाद घिमिरे र मनमाया अधिकारीले एक–एक कठ्ठाका दरले कुल ७ कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएका थिए। त्यसपछि खानेपानी आयोजनाको पूर्वाधार निर्माण कार्य सुरु गरिएको हो।
हालसम्म आयोजनाअन्तर्गत ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकी, कार्यालय भवन तथा आधुनिक फिल्टर प्रणाली जडानको काम सम्पन्न भइसकेको छ। साथै पानी वितरणका लागि पाइपलाइन विस्तारको काम पनि जारी रहेको झिलझिले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष गंगाधर तिम्सिनाले जानकारी दिनुभयो।
उहाँका अनुसार पहिलो चरणमा झिलझिले बजार क्षेत्रमा खानेपानी वितरण गर्ने लक्ष्य राखिएको छ। “सहज वातावरण रहेमा पाइपलाइन विस्तारको काम छिट्टै सम्पन्न गरेर आगामी दशैंभित्रै उपभोक्तालाई खानेपानी वितरण सुरु गर्ने योजना छ,” अध्यक्ष तिम्सिनाले भन्नुभयो।
सरकारबाट आवश्यक बजेट समयमै प्राप्त नहुँदा आयोजना सम्पन्न गर्न अपेक्षाभन्दा धेरै समय लागेको उहाँको भनाइ छ। विशेषगरी गएको आर्थिक वर्षदेखि आयोजनाको भौतिक संरचना निर्माणले तीव्रता पाएको हो।
खानेपानी वितरणका लागि करिब ४५ हजार मिटर पाइप आवश्यक पर्ने भए पनि हालसम्म विभिन्न आकारका १५ हजार मिटर पाइप मात्रै उपलब्ध भएको समितिले जनाएको छ। समितिको निगरानीमा हालसम्म करिब ९३ लाख रुपैयाँ खर्च भइसकेको छ भने हाल ५० लाख बराबरको पाइप आएको छ ।
आयोजना सम्पन्न भएपछि करिब १ हजार ७ सयदेखि २ हजार २ सय घरधुरी प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ। खानेपानी डिभिजन कार्यालयमार्फत ठेक्का प्रक्रियाबाट ओभरहेड ट्यांकी र फिल्टर जडानको काम सम्पन्न गरिएको हो।
यस्तै, आयोजना सञ्चालनका लागि आवश्यक विद्युत आपूर्तिको व्यवस्था गर्न नेपाल विद्युत प्राधिकरण ले ट्रान्सफर्मर जडानको तयारी गरेको छ। यसका लागि विद्युत पोल गाड्ने काम सम्पन्न भइसकेको र चालु आर्थिक वर्षभित्र ट्रान्सफर्मर जडान गरिने बताइएको छ।
खानेपानी डिभिजन कार्यालयका अनुसार झिलझिले खानेपानी आयोजना करिब १३ करोड ५० लाख रुपैयाँ लागतमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजना सञ्चालनमा आएपछि यस क्षेत्रका नागरिकले वर्षौंदेखिको शुद्ध खानेपानी समस्याबाट राहत पाउने विश्वास गरिएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



