
झापा, ४ जेठ । झापाको मेचीनगरमा रहेको एक उद्योगमा आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
आइतबार साँझ करिब ८ः३० बजे झापाको मेचीनगर नगरपालिका–१३ कालिरोडस्थित मित्तल एग्रो प्रालिमा अचानक आगलागी भएको हो । बिर्तामोड–३ का दिपेन्द्र कुमार अग्रवालले सञ्चालन गर्दै आएको उक्त उद्योगमा आगलागीबाट चामल तथा मकैको च्याख्ला बनाउने मेसिन पूर्ण रूपमा जलेर नष्ट भएको छ। घटनाबाट अनुमानित ६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागी भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी चारआलीबाट प्रहरी टोली खटिएको थियो । प्रहरी, उद्योगका कामदार तथा स्थानीयको सहयोगमा राति करिब ९ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनामा कुनै मानवीय वा चौपाया क्षति भने नभएको बताइएको छ ।


