
कनकाई, ४ जेठ । झापा कनकाई नगरपालिका–३ का जेन्जी अगुवा युवा अभियान्ता दिवश कार्कीको नेतृत्वमा वृहत साताव्यापी सरसफाई महाअभियानको आज समापन गरिएको छ ।
आज सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरी सरसफाई सचेतना अभियानको समापन गरिएको जानकारी दिइयो । कार्कीको संयोजकत्वमा एक सातासम्म भएको सरसफाईमा अभियानका २० बढी युवा, इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोली र युवा नेता रमेशचन्द्रबाबु मैनाली सहितको टोलीको सहभागिता रहेको थियो ।
पत्रकार सम्मेलनमा सरसफाई अभियानका क्रममा भोग्नुपरेका तिता मिठाअनुभव समेत सुनाइएको थियो । ‘यो अभियान हामीले सुरु गरिदिएका हौ । सुरुङ्गा र कनकाई नगरपालिकामा रहेका अन्य संघ संस्थाले समेत यस अभियानलाई निरन्तता दिनुपर्यो’, अभियानकर्मी दिवश कार्कीले भन्नुभयो, ‘हामी पनि फेरि अभियानमा जोडिने छौं ।’
अभियानले अहिले सरसफाई गरे पनि समाजमा भए–गरेका विकृति विसङ्गति र विशेषगरी भ्रष्टाचारका मुद्दालाई समेत अभियानले जोडेर अगाडि लैजाने कार्कीको भनाइ छ । सुरुङ्गाको सुरक्षाका लागि हालसम्म सामुदायिक रुपमा सिसिटिभी कही पनि जडान नगरिएको भन्दै यसको व्यावस्थापन गर्नका लागि समेत अभियानका तर्फबाट यसका सरकार र सचेत नागरिकलाई आह्वान गरिएको छ ।

सुरुङ्गालाई बन्द मुक्त भनेर चिनिए जसरी फोहोरमैला मुक्त शहरका रुपमा समेत चिनारी विश्वमाझ लैजाने कार्कीले बताउनुभयो । कार्कीको अभियानलाई झापा सुरुङ्गा निवासी हाल अष्टेलियामा बसोबास गर्दै आउनुभएका गैर आवासीय नेपालीहरुको संस्था पानस अष्टेलियाका अध्यक्ष दुर्गाप्रसाद उप्रेतीको साथ रहेको छ । उप्रेतीले सरफाईका लागि आवश्यक ४० थान डस्विन उपलब्ध गराउनुभएको छ । हाल ती डस्विनहरु प्राय राखिसकिएको कार्कीले बताउनुभयो ।
पत्रकार सम्मेलनमा सरसफाई अभियानकर्मी मनिसा वाग्ले लगायतले सरसफाइका क्रममा भोग्नुभएका अनुभव सुनाउनु भएको थियो । सरसफाई अभियान समापनको अवसरमा सुरुङ्गा बजारमा सचेतना र्याली समेत निकालिएको थियो ।


