
भद्रपुर, ५ जेठ । झापा जिल्ला अदालत मा ‘मिट द जज’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अदालतका माननीय प्रमुख न्यायाधीश उमेशप्रसाद लुईटेलसँग अदालतका सेवाग्राही तथा सरोकारवालाले प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेका थिए ।
कार्यक्रममा प्रमुख न्यायाधीश लुईटेलले अदालतबाट प्रवाह हुने सेवा कस्तो पाइएको छ भन्ने विषयमा सेवाग्राहीसँग जिज्ञासा राखेका थिए । सो क्रममा सहभागी सेवाग्राहीले अदालतको सेवा प्रवाह, कर्मचारीको व्यवहार, उपलब्ध सेवा सुविधा तथा कार्यसम्पादनका विषयमा आफ्ना धारणा र प्रतिक्रिया व्यक्त गरेका थिए ।
अदालतका श्रेस्तेदार डिल्लीराम प्रसाईले अदालतबाट प्रदान गरिने सेवा, कर्मचारीको व्यवहार, सेवा प्रवाहमा पक्षपात वा अनियमितता भए–नभएको विषयमा सेवाग्राहीसँग न्यायाधीशको प्रत्यक्ष संवाद गराइएको जानकारी दिए । उनले सेवाग्राहीको अपेक्षा सम्बोधन हुने गरी कार्यसम्पादन गरिने प्रतिबद्धता समेत व्यक्त गरे।
अदालतको रणनीतिक योजना अनुसार न्यायिक प्रक्रियामा नागरिकको पहुँच बढाउने, सेवा प्रवाहलाई जनमैत्री बनाउने तथा न्याय सेवामा सुधार ल्याउने उद्देश्यले ‘न्यायाधीश भेटघाट’ कार्यक्रम सञ्चालन गरिएको अदालतले जनाएको छ ।
कार्यक्रममा विचाराधीन मुद्दाको हार–जीतका विषयमा छलफल नगरिएको उल्लेख गर्दै अदालत प्रशासनले मुद्दाको कामकारबाही, सेवा प्रवाह प्रक्रियामा देखिएका असन्तुष्टि तथा गुनासाहरू न्यायाधीशले प्रत्यक्ष सुन्ने वातावरण सिर्जना गरिएको जनाएको छ।
अदालतको सेवा सम्बन्धी गुनासा वा जानकारी लिनुपर्ने भए झापा जिल्ला अदालतको वेबसाइटमा उपलब्ध सम्पर्क नम्बरमार्फत जानकारी लिन सकिने अदालत प्रशासनले जनाएको छ।
कार्यक्रममा ४० जना भन्दा बढी सरोकारवालाको उपस्थिति रहेको थियो। साथै गौरिगञ्ज गाउँपालिका न्यायिक समिति का सदस्य तथा मेलमिलापकर्तासँग अन्तरक्रिया समेत गरिएको थियो।
उक्त कार्यक्रममा गौरिगञ्ज गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समिति संयोजक पुजन न्यौपाने कुँवर तथा अदालतका शाखा अधिकृत रामचन्द्र बस्नेत लगायतको उपस्थिति रहेको थियो।


