
झापा, ५ जेठ । झापा र सुनसरीबाट प्रतिबन्धित लागुऔषधसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार बिहान पौने १० बजे इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका–५ शनिश्चरे रोड पाथीभरा टोलस्थितबाट बिर्तामोड नगरपालिका–१ का १९ वर्षीय अभिषेक राईलाई ब्राउन सुगर ११० मिलिग्राम, प्रतिबन्धित औषधी ४ ट्याब्लेटसहित पक्राउ गरेको थियो ।
त्यस्तै, सोमबार राति साँढे ९ बजे बिर्तामोड नगरपालिका–५ इन्द्रेणी टोलस्थितबाट ब्राउनसुगर १९० मिलिग्रामसहित कारोबारमा संलग्न सोही स्थानका ३५ वर्षीय हरसिंह राजवंशी, २१ वर्षीय राजु राजवंशी, बिर्तामोड नगरपालिका–६ का ४४ वर्षीय सन्तोष कुमार पराजुली र बिर्तामोड नगरपालिका–९ का २२ वर्षीय प्रशान्त खड्कालाई पक्राउ गरेको छ ।
त्यसैगरी, सोमबार दिउँसो १ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल स्थितबाट भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०१–००२ ह ७३१२ नम्बरको सिटी सफारी चालक सोही स्थान भानुटोलका ३८ वर्षीय जीवन घिमिरेलाई ब्राउनसुगर ११ ग्राम २०० मिलिग्रामसहित पक्राउ गरेको छ ।
सोमबार राति ८ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापाकै दमक नगरपालिका–६ स्थित बसपार्कबाट दमक नगरपालिका–१ का २७ बर्षीया विमला दाहाललाई ब्राउन सुगर ६ ग्राम ८४० मिलिग्राम सहित पक्राउ गरेको छ ।


