
झापा, ५ जेठ । झापाको अर्जुनधारा नगरपालिका–८ कुशलचोकस्थित खुला चौरमा एक युवतीको मृत्यु भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
मृत्यु हुनेमा अर्जुनधारा–८ कुशलचोककी २९ वर्षीया काजल बस्नेत सुवेदी रहेकी छन् । घटनामा संलग्न भएको आरोपमा अर्जुनधारा–५ कञ्चनबाडीका २४ वर्षीय किरण गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार राति करिब ९ः१५ बजे एम्स सेकेन्डरी बोर्डिङ स्कूलको पश्चिमतर्फ रहेको खुला चौरमा दुवै जना मदिरा सेवन गरी बसेका बेला गौतम र सुवेदीबीच विवाद भएको थियो । सो क्रममा किरणले काजललाई धकेल्दा उनी चौरको बीच भागमा सीमाना छुट्याउन बनाइएको कङ्क्रिटको प्लममा ठोक्किन पुगेकी थिइन् ।
टाउकोमा गम्भीर चोट लागेर बेहोस भएकी काजललाई स्थानीयले उद्धार गरी उपचारका लागि स्थानीय शंकर अस्पताल पुर्याएका थिए । त्यहाँबाट थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी हस्पिटल हुँदै प्रादेशिक मेची अस्पताल पठाइएको थियो । उपचारकै क्रममा आज बिहान ४ः४० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले अभियुक्त गौतमलाई घटनास्थलबाटै पक्राउ गरेको थियो । प्रहरीले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ । पक्राउ परेका गौतमलाई म्याद थपका लागि जिल्ला अदालत झापामा उपस्थित गराइएकोमा अदालतबाट पाँच दिनको म्याद प्राप्त भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


