
झापा, ५ जेठ । झापाको मेचीनगर नगरपालिका–५ शान्ति टोलस्थित निर्माणाधीन खानेपानी ट्याङ्कीमा काम गर्ने क्रममा एक मजदुरको लडेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेचीनगर–५ का ५२ वर्षीय दिननाथ पराजुली रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज मंगलबार दिउँसो करिब १२ः३० बजे निर्माणाधीन खानेपानी ट्याङ्कीको सेटरिङका लागि प्रयोग गरिएको बाँस खोल्ने क्रममा पराजुली अचानक ट्याङ्कीको तेस्रो तलाबाट लडेर गम्भीर घाइते भएका थिए ।
घाइते पराजुलीलाई तत्काल उपचारका लागि बीएण्डसी हपस्पिटल बिर्तामोड लगिएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनाबारे अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतसहितको टोली खटिएको थियो । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


